काठमाडौं, २४ माघ । सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग निर्माणको टेण्डर ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले जितेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च स्रोतले दिएको जानकारी अनुसार सिद्धबाबा सुरुड. निर्माणको टेण्डरमा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ प्रस्ताव गरेको छ । यो कम्पनीले फाष्ट ट्रयाकको सुरुड. तथा उचाईका पुलहरु बनाउने पहिलो प्याकेजको ठेक्का पाएको छ ।
यसले नारायणगढ बुटबल सडक विस्तार आयोजनाको दाउन्ने देखि बुटबल खण्डको काम पनि गरिरहेको छ । रुख कटान र विद्युतको प्रशारण लाईनका पोलहरु सार्ने काममा भएको बिलम्बका बाबजूद आयोजनाको यो खण्डको प्रगति नारायणगढ दाउन्ने खण्डको भन्दा बढी छ ।
इञ्जिनियरिड.,प्रक्योरमेण्ट र कन्स्ट्रक्सन(ईपीसी) मोडलमा आह्वान गरिएको यो सुरुड. निर्माणको टेण्डरमा चीनकै कोभेक(सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको छ ।. यो कम्पनीले सुनसरी मरिन बहुद्देश्यीय आयोजनाको सुरुड निर्माणको काम पनि पाएको छ ।
चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको छ । त्यसतै चाइना फर्स्ट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको छ ।
ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको छ ।
१ मंसिर २०७७मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ को लागि बजेटको सहमति प्रदान गर्ने निर्णय गरेको थियो ।
सडक विभागले ९ जेठ, २०७८मा ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।
स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडीसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार यो सुरुङमार्ग १.१२६ किलोमिटरको हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिनेछ । ५ वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने लक्ष्य छ ।
सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र बर्षा र हिउँदमा पहिरो जाने र सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।
गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । भैरहवा पोखराको सिद्धार्थ राजमार्गमा पर्ने यो सडक खण्ड छिचोलेर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म सवारी साधन चल्ने गर्छन् ।


















