जगदम्बाको ‘कलर कोटेड कोइल्स’ तथा ‘सिट’ श्रीलंका निर्यात सुरु ; उत्पादनको ४० प्रतिशत निर्यातको लक्ष्य
काठमाडौं, २४ माघ । निर्माण सामाग्री, सवारी साधनलगायत विभिन्न व्यवसाय सञ्चालन गरिरहेको जगदम्बा ग्रुपले तेस्रो देशमा निर्यात सुरु गरेको छ।
ग्रुपले कलर कोटेड कोइल्स तथा सिट पहिलोपटक श्रीलंका निर्यात गरेको हो।
कम्पनीले पहिलो पटक ९२ टन सामाग्री निर्यात गरेको छ। पहिलो पटक १ सय टनको अर्डर आएकाले परीक्षणस्वरुप डेलिभरी दिएको कम्पनीले जनाएको छ।
जगदम्बाको फलामे सिट वीरगंजबाट कोलकाता पोर्ट हुँदै श्रीलंका निर्यात गरिएको छ।
कम्पनीले १४ वर्ष भारतीय उद्योगमा काम गरेका अनुभवी कर्मचारी अमित खेरलाई निर्यात युनिटको प्रमुख बनाएको छ।
्र्र्र्र्रजगदम्बा स्टिलको बिक्री विभागका उपाध्यक्ष मनोज तिवारीका अनुसार अहिले भएको निर्यात सिट फ्याक्ट्रीमा गएको हो। यो रोलमा पठाइने गरिन्छ। विशेषगरी यो फर्निचरमा प्रयोग हुन्छ ।
एजेन्ट तथा पार्टीहरुले खोजेको जस्तो सामाग्री बनाएर बिक्री गर्न सकेको खण्डमा निर्यात सम्भव भएको तिवारीको भनाइ छ। कम्पनीले निर्यातका लागि छुट्टै युनिट तयार गरको छ। कम्पनीले दक्षिणपूर्वी तथा मध्यपूर्वी एसियाली देशका साथै दक्षिण अफ्रिकामा समेत निर्यात सम्भावना खोजी गरिरहेको छ।
तेस्रो मुलुकका बजारले सबैभन्दा ध्यान दिने विषय गुणस्तर भएकाले मूल्यभन्दा पनि गुणस्तरको प्रतिष्पर्धामा राम्रो उत्पादन दिन जगदम्बा तयार देखिएको छ।
हाल जगदम्बाको यो उद्योगको वार्षिक उत्पादन क्षमता वार्षिक १.२ लाख टन छ। यसको ४० प्रतिशतसम्म निर्यात गर्ने योजना कम्पनीको छ।
कम्पनीले भारतलाई पनि बजार बनाउन प्रयास गरिरहेको छ। तर युरोप र अफ्रिकाका पार्टीहरुसँग भइरहेको कुराकानी टुंगोमा पुग्नेबित्तिकै निर्यात थप ढोका खुल्ने छ।
नेपालका हुलास र आरतीले पनि यस्तै प्रकृतिका सामाग्री उत्पादन गर्दै आएका छन्। तर निर्यात व्यापारमा ती कम्पनीहरु भन्दा फरक रणनीति बनाएको कम्पनीले जनाएको छ।
नेपालबाट धागो, जुट, हस्तकला सामग्री, चिया, अलैंची, जुत्ता, तयारी पोसाक, पाम तेल, सोयाबिन तेल, पश्मिना निर्यात हुँदै आएको छ। जगदम्बाले यसमा नयाँ आयाम थपिदिएको छ ।
यसले अन्य उद्योगहरुलाई पनि तेस्रो मुलुकमा निर्यातको संभावनालाई दोहन गर्न उत्प्रेरित गर्ने देखिएको छ ।


















