Prakash Adhikari February 8, 2022

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नुभएको छ।

मंगलबार गृहनगर हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको हो।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भन्नुभएको छ, ‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु। पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु।’

यसअघि सोमबार उहाँले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताउनुभएको थियो।

‘सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ,’ उहाँले भन्नुभएको थियो, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुस्ख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

थापाले पार्टी परित्याग गरे पनि उहाँले तत्काल राप्रपा विभाजन गराएर नयाँ पार्टी नखोल्ने केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताउनुभएको छ।

‘अब के गर्ने भन्नेबारे छलफल र कुराकानी हुन्छ। अहिलेसम्म नयाँ पार्टीको कुनै तयारी छैन,’ बर्तौलाले भन्नुभयो।

गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले चलखेल गरेर आफूलाई हराएको आरोप लगाउँदै आउनुभएको छ।

यो विषयको छानबिन हुनु पर्ने उहाँको माग छ। निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सुनुवाइ नगरेपछि आफूले पार्टी परित्याग गरेको थापाको जिकिर छ ।

थापाले राप्रपा त्यागे गरे पनि उहाँनिकट नेताहरू पार्टी पदाधिकारी यथावत हुनुहुन्छ । उहाँहरुले के गर्नुहुन्छ भन्ने अहिले टुंगो भइसकेको छैन।
अनपेक्षित र दुर्भाग्यपूर्ण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, निवर्तमान अध्यक्ष थापाले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँसमेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं ।’

 

गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गर्नुभएको थियो । उहाँले पूर्वराजाको हस्तक्षेपको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराउनुभएको थियो ।

‘भर्खरै संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग यस विषयमा कुराकानी गरेर आएको छु, दुई दिनपछि पदाधिकारी बैठक पनि बोलाइसकेको अवस्थामा यस प्रकारको निर्णय (कमल थापा अलग हुने घोषणा) आउनु दुर्भाग्यपूर्ण हो’ लिङ्देनले भन्नुभएको छ ।

अध्यक्ष लिड.देनले निवर्तमान अध्यक्ष थापालाई निर्णय सच्याउन आग्रह गर्दै थापाको गलत निर्णयबाट विचलित नहुन पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ ।

 

Share Now

Leave a comment.