खुमलटार(ललितपुर), २७ माघ । सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ।
नेता कोइराला र अध्यक्ष प्रचण्डबीच बिहान ९ बजेपछिदेखि भेटवार्ता भइरहेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ।
उहाँका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनाव र अवरुद्ध संसद अधिवेशन लगायतका विषयमा छलफल हुनेछ।
भेटवार्तामा प्रचण्डसँगै माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बताइएको छ।
एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल गर्न थाल्नुभएको छ ।
यसअघि मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँको बालकोटस्थित निवासमा गएर भेट्नुभएको थियो ।
डा. कोइराला हालै सम्पन्न पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा प्रधानमन्त्री शरेरबहादुर देउवासँग पराजित हुनुभएको थियो ।


















