Prakash Adhikari February 10, 2022

 

खुमलटार(ललितपुर), २७ माघ । सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ।

नेता कोइराला र अध्यक्ष प्रचण्डबीच बिहान ९ बजेपछिदेखि भेटवार्ता भइरहेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनाव र अवरुद्ध संसद अधिवेशन लगायतका विषयमा छलफल हुनेछ।

भेटवार्तामा ​प्रचण्डसँगै माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बताइएको छ। ​

एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल गर्न थाल्नुभएको छ ।

यसअघि मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँको बालकोटस्थित निवासमा गएर भेट्नुभएको थियो ।

डा. कोइराला हालै सम्पन्न पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा प्रधानमन्त्री शरेरबहादुर देउवासँग पराजित हुनुभएको थियो ।

Share Now

Leave a comment.