Prakash Adhikari February 10, 2022
NC -CWC

 

सानेपा(ललितपुर), २७ माघ । नेपाली कांग्रेसको बिहिवार बसेको कार्यसम्पादन समितिको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत प्राप्त ६० अर्ब बढीको अनुदान सहयोग सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी पार्टी कार्यालय सानेपामा सम्पन्न बैठकमा एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल जानकारी गराउनुभएको थियो । उहाँले त्यसपछि केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई एमसीसीको विषयमा बोल्न समय दिनुभयो ।

व्याख्यापछि सभापति देउवाले एमसीसीका राम्रानराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गर्नुभएको थियो ।

सभापति देउवाले अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताउनुभएको थियो ।

संसदबाटै छिनोफानो होसः प्रवक्ता डा.महत

बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस एमसीसीको छिनोफानो संसदबाट गर्ने पक्षमा रहेको बताउनुभयो।

‘जनताका प्रतिनिधिहरूसामू छलफलका लागि प्रस्ताव पठाउनु पारदर्शी कुरा हो। एमसीसीबारे विभिन्न हल्लाहरू फैलाइएका छन् ती सबैबारे जनताका प्रतिनिधिले छलफल गर्न पाउनुपर्छ,’ प्रवक्ता महतले भन्नुभयो,‘राम्रोरनराम्रो के हो हेरेर सांसदले निर्णय गर्छन्।’

एमसिसी संसदमा पेस नगरेर यो त के हो, के हो भन्ने भ्रम पारिएको महतले बताउनुभयो।

सरकारले एमसिसी संसदमा पेस गर्ने भएपछि त्यसलाई सभामुखले रोक्न नमिल्ने उहँको भनाइ छ।

‘सभामुखको काम, कर्तव्य र अधिकार के हो भन्ने कुरा स्पष्ट छ, त्यो सभामुखले पनि राम्ररी बुझ्नुभएको छ,’ महतले भन्नुभयो,‘उहाँले म यो टेबल गर्छु, यो गर्दिनँ भन्न पाउनु हुन्न।’

सत्तारूढ गठबन्धनभित्रका दलहरूले पनि औपचारिक रूपमा एमसीसी चाहिँदैन नभनेकाले व्यक्तिगत टिप्पणीको कुनै महत्व नहुने उहाँले बताउनुभयो।

माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरूले संशोधन नगरी एमसीसी पास गर्न नहुने बताउँदै आएका छन्।

फेब्रुअरी २८ सम्म सम्झौता संसदबाट अनुमोदन नभए ६० अर्बभन्दाबढीको ( ५०० मिलियन डलर)को अनुदान सहयोग फिर्ता लिने सन्देश एमसीसीले पठाइसकेको छ।

एमसीसीले डेडलाइन दिएपछि सरकारलाई फागुन १६ अर्थात फेब्रुअरी २८ सम्म सम्झौता पारित गर्नुपर्ने दबाब परेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने छ ।

 

Share Now

Leave a comment.