Prakash Adhikari February 16, 2022

 

काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको विरोधका बीच करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गर्नुभयो ।

कार्यसूचीमा रहेको प्रस्ताव अनुरुप नै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक समापन गरिएको छ।

बुधबारको बैठकमा ६० अर्बभन्दा बढी रकम नेपालको विद्युत प्रशारण लाईन निर्माण र सडक विस्तारमा दिने मिलिनियम च्यालेञ्ज कर्पोरेशनको अमेरिकी अनुदान संझौता(एमसीसी)  टेबुल गर्ने तयारी थियो ।

तर, सत्ता गठबन्धनमा नै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहमति नजुटी पेश गरेमा गठबन्धन समस्यामा पर्ने भएकोले थप प्रयास गर्न अनुरोध गरेपछि आजको बैठकमा एमसीसी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची नै बनेन ।

बैठक अगाडि सम्पन्न कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज एमसीसीको प्रस्ताव टेबुल गर्ने विषय नराख्ने सहमती भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।

कानून मन्त्री दिलेन्द्रप्रसाद बडुका अनुसार यस विषयमा छलफल गर्न भोलि सत्ता गठबन्धन र सर्वदलीय बैठक बस्नेछ र फागुन ६ गतेको बैठकमा यो प्रस्ताव पेश हुने विश्वास छ ।

दलहरुबीच सहमति जुट्न धेरै समय चाहिने देखिएको छैन् ।

Share Now

Leave a comment.