Prakash Adhikari February 16, 2022

काठमाडौं,४ फागुन । प्रतिनिधिसभाको बुधवारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव पेस नहुने नेताहरूले जानकारी दिएका छन्।

केहीअघि सकिएको प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव पेस नहुने जानकारी दिएको नेताहरूले बताएका हुन्।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले भन्नुभयो, ‘आजको बैठकमा एमसीसीको प्रस्ताव पेस नहुने सभामुखले जानकारी दिनुभयो।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि सभामुखले आजको बैठकमा एमसीसीको प्रस्ताव पेस नहुने जानकारी दिएको बताउनुभयो।

सचेतक भुसालले बिहीवार दिउँसो सत्ता गठबन्धन दलको बैठक बोलाइएकाले त्यसपछि मात्र एमसीसीबारे निर्णय हुने बताउनुभयो।

‘भोलि सर्वदलीय बैठक हुन्छ। त्यसका आधारमा एमसीसीको प्रस्ताव पेस गर्ने विषयमा थप निर्णय हुनेछ।’, उहाँले भन्नुभयो ।

उक्त बैठकको निर्णयका आधारमा शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्ताव अघि पनि बढ्न सक्ने नेताहरूको भनाइ छ।

देउवा -प्रचण्ड वार्ता
बुधवारै सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो।

दुई नेताबीचको भेटमा प्रचण्डले जबरजस्ती एमसीसीसम्बन्धी प्रस्ताव पेस गरिए माओवादी विपक्षमा उभिने र नैतिकताका आधारमा माओवादी सरकारबाट बाहिरिने जानकारी गराएको विवरणहरू आएका थिए।

त्यसपछि बिहीवार सर्वदलीय बैठक गर्ने निर्णय भएको बताइएको छ।

यसअघि बुधवार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकमा प्रचण्डले ‘जुनसुकै परिस्थितिका लागि तयार रहन’ भन्नुभएको माओवादी नेता गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।

‘जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार हुनुस् भन्नुभएको छ अध्यक्षले दलको बैठकमा’, पोखरेलले भन्नुभयो।

संसद् अवरोध भएको अवस्थामा बजेटसम्बन्धी विधेयकका लागि मात्र संसद्‌मा ूहाटहुट गरेर पास गरिएकोू उहाँको भनाइ छ।

तर राष्ट्रिय सहमति भएर अवरोध नहटी एमसीसीसम्बन्धी प्रस्ताव पेस गर्न नहुने माओवादीको निर्णय रहेको पोखरेलले बताउनुभयो।

प्रचण्डलाई उद्धृत गर्दै पोखरेलले भन्नुभयो

, ‘जबरजस्ती गरियो भने सरकारबाट बाहिरिने अवस्था आउने परिस्थिति बनेमा पनि तयार हुनू भन्नु भएको छ।’

उहाँका भनाइमा एमसीसी संसद्‌मा पेस गरिए पनि सबै सांसदले बोल्न पाउने सार्वभौमिक अधिकार प्रयोग गर्न पाउनुपर्ने माओवादीले मत रहेको छ।

र, त्यसका लागि राष्ट्रिय सहमति वा त्यो सम्भव नभए गठबन्धन दलभित्र मात्र भए पनि सहमति आवश्यक पर्नेछ।(स्रोत:बीबीसी)

Share Now

Leave a comment.