काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताका यथार्थ विवरण सार्वजनिक गर्दै यसलाई यथाशीघ्र पारित गर्न सबै राजनीतिक दलहरुलाई अनुरोध गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गर्नुको विकल्प नभएको भन्दै कांग्रेसले १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।
कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारी भएको बताउनुभएको छ ।
‘सभामुखबाट प्रतिबद्धता आइसकेको छ, भोलिको बैठकमा एमसीसी टेबल हुन्छ,’ उहँले भन्नुभयो ।
प्रवक्ता महतले एमसीसीबारे गलत प्रचार गरिएको भन्दै अहिले विरोध गर्नेहरू यो सम्झौता अगाडि बढाउने प्रक्रियामा सहभागी रहेको बताउनुभयो ।

























