Prakash Adhikari February 17, 2022

काठमाडौं, ५ फागुन । ओमान भ्रमण अन्तर्गत चतुष्कोणीय टी २० अन्तर्राष्ट्रिय श्रृखलामा सर्वाधिक रन जोडेका नेपाली ब्याट्सम्यान दीपेन्द्र ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियतामा ठूलो फड्को मारेका छन्।

चतुष्कोणीय श्रृखलामा उत्कृष्ट लयमा देखिएका ऐरीले ३ खेलमा १ सय ४२ रन बनाएका थिए । उनले ओमानविरुद्धको खेलमा अविजित ७३ रन तथा युएईसंग ४१ तथा आयरल्याण्डसंग २८ रन बनाएका थिए।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतमा ब्याटिंगतर्फ दीपेन्द्र ५२ औं स्थानमा छन्। उनले ४४३ रेटिंग अंक पाएका छन्।

ओमान भ्रमण अघि दीपेन्द्र १०९ औं स्थानमा थिए।उनले वरियतामा ५७ स्थान फड्को मारेका छन्। उनले ६५ औं स्थानमा रहेका नेपालकै कुशल भूर्तेललाई समेत पछि पारेका छन्।

गत वर्ष नेदरल्याण्ड र मलेसिया बिरुद्ध काठमाडौंमा भएको श्रृखलामा उत्कृष्ट प्रदर्शन गरेपछि ६१ औं स्थानमा उक्लेका भूर्तेल चतुष्कोणीय श्रृखलामा आयरल्याण्डसंगको एक खेलमा मात्र मैदानमा उत्रिएका थिए ।

नेपाली खेलाडीले टी २० अन्तर्राष्ट्रिय वरियतामा हाँसिल गरेको स्थानमध्ये दीपेन्द्र दोस्रो स्थानमा पुगेका छन् । यस पहिले २०१९ मा सिंगापुरमा शतक बनाएपछि पारस खड्का ४२ औं स्थानमा पुगेका थिए।

ओमान भ्रमणमा खराब फर्ममा रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने वरियताको शीर्ष १०० बाट बाहिरिएका छन्। उनी १०७ औं स्थानमा छन्।

आईसीसीको बलिंग वरियतामा शीर्ष १०० भित्र कप्तान सन्दीप लामिछाने मात्र छन्  । उनी ६३ औं स्थानमा छन्। ओमान भ्रमणमा तीन खेल खेल्दा तीन विकेट लिएका सन्दीपको वरियतामा पनि १३ स्थान सुधार आएकोछ । गत वर्ष अप्रिलमा नेदरल्याण्ड र मलेसियासंगको श्रृखला पछि उनी ७६ औं स्थानमा थिए ।

Share Now

Leave a comment.