Prakash Adhikari February 18, 2022

 

मस्कट(ओमान), ६ फागुन । आईसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायर अन्तरगत आज नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेल मस्कटस्थित अल अमरेत क्रिकेट स्टेडियममा बिहान ११ः४५ देखि सुरू हुने छ।

नेपाली टोली सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । हालै ओमान भ्रमणका अवसरमा भएको चतुष्कोणीय श्रृखलामा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान र नेपालको भेट दुईपटक भएको छ। सन् २०१९ मा भएको पहिलो खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । तर, यही ११ फेब्रुअरीमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

खेलको पूर्वसन्ध्यामा दिइएको अन्तर्वार्तामा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्नको लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेको पनि बताए । सन्दीपले नेपाल उत्कृष्ट दुई टिमको रूपमा विश्वकप छनोट हुने दाबीसमेत गरे ।

‘हामीले विश्वकपमा छनोट हुने राम्रो सम्भावना देखेका छौं । टी–२० फर्म्याटमा टेस्ट खेल्ने प्रतिद्वन्द्वी वा एसोसिएट टिम जोसँग खेले पनि खासै फरक पर्दैन । सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरू टिमले नेपाललाई हराउन कठिन हुनेछ,’ आईसीसीसँगको कुराकानीमा सन्दीपले भनेका छन्, ‘एक कप्तानको रूपमा मलाई लाग्छ कि मेरो काँधमा धेरै जिम्मेवारी छ । र, म यसलाई यादगार बनाउन चाहन्छु । विश्वकप खेल्ने हाम्रो सपना हो । मलाई लाग्दैन कि युवा कप्तान हुनु कुनै समस्या हो, किनकि मलाई मेरा सिनियरहरूको पूर्ण समर्थन छ । सिनियरलाई सँगै पाएकोमा धन्य छु ।’

त्यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासनायकेले पनि नेपाली खेलाडी उच्च मनोबलका साथ खेल्ने र विजयी हुनेमा विश्वास प्रकट गर्नुभएको छ ।

टी २० विश्वकप क्वालिफायर प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र २ का शीर्ष २ २ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा भाग लिन पाउने छन् ।

नेपालले विश्वकपमा खेल्नको लागि समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा रहेका छन् ।वैकल्पिक खेलाडी कुशल मल्ल, साहब अलाम, प्रदीप ऐरी रहेका छन् ।

यसपटक करण केसी र सोमपाल कामी टोलीमा समावेश हुन सकेनन् । पूर्णरूपमा फिट नहुँदा करण र सोमपालले विश्वकप क्वालिफायर गुमाएका हुन्।

टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झालाई राखिएको छ ।

नेपालको खेल

नेपाल भर्सेस ओमान – ओमान एकेडेमी १- फागुन ६
नेपाल भर्सेस फिलिपिन्स – ओमान एकेडेमी २- फागुन ७
नेपाल भर्सेस क्यानडा – ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ – फागुन १०
फाइनल – ओमान एकेडेमी १ – फागुन १२

Share Now

Leave a comment.