काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताउनुभएको छ ।
आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार भेटघाटमा उहाँले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो ।
डा. महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताउनुभयो । ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन,’ महतले भन्नुभयो । उहाँले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गर्नुभयो ।
कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताउनुभयो । ‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबुल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ,’ उहाँले भन्नुभयो ।
उहाँले नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको नभएको पनि बताउनुभयो ।
उहाँले एमसीसी अन्तरगत सडक विस्तार गर्ने र प्रशारण लाईन निर्माण गर्ने परियोजनाका लागि अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)बाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिन भएको यो संझौता देशको हितमा रहेको जिकीर गर्नुभयो ।

उहाँले त्यतिबेला माओवादी द्धन्द्ध समाधान भएपछि नेपालले अमेरिकासहितका दातृ राष्ट्रसंग पुनर्निमाण र नवनिर्माणको लागि सहयोग माग गरेको र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गर्नुभएको बेलामा एमसीसीको सहयोग लिने प्रक्रियाको थालनी भएको बताउनुभयो ।
उहाँले त्यसपछि बनेको खिलराज रेग्मी नेतृत्वको सरकार, नेपाली काग्रेसकै तात्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको सरकार, नेकपा एमालेका अध्यक्ष रहनुभएका के.पी. शर्मा ओलीको नेतृत्वमा बनेको सरकार, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले यो संझौतालाई अगाडि बढाउदै संझौता भएको बताउनुभयो ।
त्यसपछि पनि यसको कार्यान्वयनको सैझौता ओली नै प्रधानमन्त्री भएको बेलामा भएको पनि उहाँले बताउनुभयो । उहाँकै सरकारले यसलाई छलफलका लागि मात्रै नभई संसदबाट अनुमोदन गराउन संसदमा दर्ता गरेको पनि उहाँले जिकिर गर्नुभयो ।
उहाँले अमेरिकी अनुदानको विकास सहयोग ल्याउन अहिले संसदमा रहेका धेरै पार्टीहरुको प्रयास रहेकोले यो सबैको सहयोगबाट पारित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पूर्व परराष्ट्रमन्त्री महतले चीनले भनेजस्तो कतैबाट एमसीसी परियोजनाका लागि दबाब नआएको बताउदै भन्नुभयो, “हामीलाई कुनै दबाब छैन। हामी कसैको दबाबमा पर्दैनौ। यो हाम्रो सार्वभौम संसद्को विषय हो। यसलाई हामी आफै निर्णयमा पुर्याउन सक्छौं।”

नेपाली कांग्रेसका प्रवक्ता डा. महतले एमसीसी सम्झौता संसद्बाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । “ओलीजीले एमसीसी ससद्मा दर्ता गर्नुभएको थियो । उहाँले नै टुंगोमा पुर्याउनु हुन्छ भन्ने थियो । तर सक्नुभएन । अब हामीले संसद्मा पुर्याएका छौँ। सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। उहाँले आफैले दर्ता गरेको विधेयकमा सहयोग नगरेर विकल्प पनि छैन”, प्रवक्ता महतले थप्नुभयो ।


















