मस्कट(ओमान), १० फागुन । आईसीसी टी–२० विश्वकप छनौट अन्तरगत ओमानमा भैरहेको छनोट चरणको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्सले नेपालसामु १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मस्कटको अल इमिराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ७५ रनको योगफल बनाएको छ ।
ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा सुरुआती ६ ओभरको पावर प्लेमा नै युएईले १ विकेट गुमाएर ५८ रन जोडेको थियो ।
दोस्रो ओभरमै युएईका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले बोल्ड आउट गरेका थिए । तर दोस्रो विकेटका लागि अर्का ओपनर मोहम्मद वासिम र भृत्य अरविन्दले ६६ रनको साझेदारी गरे ।
आठौं ओभरमा सन्दीप लामिछानेले अरविन्दलाई ४६ रनको व्यक्तिगत स्कोरमा बोल्ट आउट गरे । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि थप ६४ रनको साझेदारी गरे ।
१६.१ ओभरमा उस्मान व्यक्तिगत १७ रनमा आउट हुँदा युएई १३६ ।३ को अवस्थामा पुग्यो । सोही ओभरको अन्तिम बलमा अविनाश बोहोराले वासिमलाई पनि ७० रनमा आरिफ शेखबाट क्याच आउट गराए ।
१७औं ओभरमा अविनाशले दुई विकेट लिएयता युएईको ब्याटिङ सुस्त भएको हो । १८औं ओभरमा जितेन्द्र मुखियाले र १९औं ओभरमा अविनाश बोहराले पुनः विकेट लिए ।
युएईलाई रोक्ने क्रममा जितेन्द्र र अविनाशले ३ । ३ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
विश्वकपमा छनोट हुनका लागि नेपालले आज युएईलाई हराउनै पर्नेछ । ग्लोवल क्वालिफायरको समूह ए बाट दुई टोलीले आगामी अक्टोबररनोभेम्बरमा अस्ट्रेलियामा हुने आईसीसी टी २० विश्वकप खेल्ने अवसर पाउने छन् ।


















