काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता बामदेव गौतम र सोही पार्टीबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका शीर्ष नेता झलनाथ खनालले चिनिया निर्माण र ब्यापारकम्पनीहरुको एजेण्टको रुपमा काम गर्ने छोराहरुको ठेक्का बचाउन अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)संग नेपाल सरकारले गरेको संझौताको विरोध गरेको रहस्य खुलेको छ ।
एमसीसी संझौता निर्धारित समय सीमाभित्र सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनले केही समय पहिले सत्ता गठबन्धनमा संलग्न रहेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी संझौता अध्ययन गर्ने कार्यदल बनाएको थियो । पूर्वप्रधानमन्त्री रहनुभएका खनालले सत्य र तथ्यमा आधारित भएर एमसीसी संझौताका प्रावधानहरु अध्ययन गरेर यसमा देखिएका समास्या निराकरण गर्ने उपाय पत्ता लगाउने विश्वास गठबन्धनका दलहरुको थियो ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की रहेको उक्त समितिले प्रतिवेदन त तयार पारेन पारेन, गठबन्धनका नेता र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि संझौताको अध्ययन नसकिएको ठूला डकुमेण्टहरु अध्ययन थालिएको भनेर ढाट्यो ।
सार्वजनिक सञ्चार माध्यममा यसका संयोजक खनालले आफू नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले यसै विषयमा अध्ययन गर्न बनाएको समितिको समेत संयोजक रहेको र आफ्नो धारणा र निष्कर्ष त्यसको भन्दा फरक नरहेको बताउदै आउनुभएको छ ।
जब कि यस बीचमा नेकपा कार्यदलले औल्याएका कतिपय अस्पष्टतालाई अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी राजदूतावासमार्फत एससीसीको प्रधान कार्यालयमा सोधेर पठाउनुभएको ११ वटा प्रश्नको जवाफ आएको छ । नेकपाको कार्यदलले औल्याएका अस्पष्टताहरु स्पष्ट भएका छन् । सो प्रतिवेदन नै यो समितिको प्रतिवेदन हुन नसक्ने र सन्दर्भ सामग्री सम्म हुने स्पष्ट छ ।
आफ्नो संयोजकत्वमा अध्ययन समिति बनेपछि पूर्वप्रधानमन्त्री खनाले आफूहरु यो संझौता अन्तरगत बन्ने परियोजनाहरुको डिपिआरको समेत अध्ययनमा लागेको उट्पट्याड. कुरा बताउनुभयो । जबकी संझौता कार्यान्वयन भएपछि मात्रै परियोजना अगाडि बढ्ने र डिपीआर परियोजनाको निर्माण सामग्री लागत समयसंग संबन्धित हुने विषय हुन ।
चिनिया कम्पनीका एजेण्ट सुपुत्रको ठेक्का जोगाउन मरिहत्ते
देशको प्रधानमन्त्री भैसकेको मानिससंग राज्यले ठूलो अपेक्षा गरेको हुन्छ । तर एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता खनालले भने पुत्रमोहका कारण राष्ट्रहितमा बोल्न सक्नुभएन । उहाँले नेकपामा रहँदा पनि पार्टीको पद र पूर्वप्रधानमन्त्रीको आफ्नो विशिष्ट पहिचान र मर्यादालाई चिनिया कम्पनीका एजेण्ट छोरोको ठेक्का जोगाउन दुरुपयोग गर्नुभएको रहस्य खुलेको छ ।
दुवै समितिमा उहाँले देखाउनु भएको व्यवहार र एमसीसी संझौता संसदमा टेबुल गर्ने सरकारको निर्णय पछि उहाँले आक्रोशित हुँदै भन्नुभएको संसद सञ्चालन नभएको बेलामा उनीहरुले भान्छा कोठामा प्रस्तुत गर्छन भनेर खिसी ट्युरी गर्नुभएको थियो ।
यो संझौता छलफलका लागि संसद प्रवेश गरेपछि सत्तारुढ गठबन्धनमा सामेल पार्टीका वरिष्ठ नेता भएकोले अब संसदमा छलफल भएर टुंगो लाग्छ भन्नुपर्नेमा पूर्वप्रधानमन्त्रीले विकास अनुदानको संझौता संसदमा प्रस्तुत गरेर सरकारले गल्ति गरेको र आफ्नो पार्टीले यसलाई पारित गर्न सहयोग नगर्ने बताउनुभयो । उहाँको पार्टीले संसदमा यसको विपक्षमा मतदान गर्ने निर्णय गर्यो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालका सुपुत्र निर्भिक खनाल पेशाले इञ्जिनियर हुनुहुन्छ । उहाँ ठेक्का पट्टा व्यवसायमा हुनुहुन्छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपको उहाँ स्थानीय एजेण्ट हुनुहुन्छ ।
सन् २०१५ जनवरी १५ का दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो आयोजना डिसेम्बर २०१७ सम्म निर्माण सकिनुपर्ने थियो । आयोजनाको पहिलो पटक म्याद थपेर १५ जुन २०१८, दोस्रोपटक २८ जुन २०१९ कायम गरिएको थियो । तेस्रो पटक डिसेम्बर २०१९ कायम गरिएको हो । त्यो बढेर ३१ मार्च २०२० पुग्यो । हालै निर्माण सम्पन्न भएर फागुन ६ गतेदेखि यो एअरपोर्टमा क्यालिब्रेसन उडान थालिएको छ ।
पूर्वप्रधानमन्त्री खनाललाई पछिल्लोपटक औषधोपचारमा सरकारले ठूलो रकम सहयोग गरेपछि झलनाथ खनालका सुपुत्र निर्भिकको बारेमा सामाजिक सञ्जालमा धेरै नै नकारात्मक टिप्पणीहरु आएका थिए । पेशाले इन्जिनियर निर्भिकको
क्रसर उद्योगहरुमा पनि लगानी रहेको र मासिक लाखौ आम्दानी भएको कुरा उजागर भएको थियो ।
बामदेव पनि छोराको ठेक्का पट्टा बचाउन अग्रसर
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले चिनिया कम्पनीका स्थानीय एजेण्ट बनेका आफ्ना छोेराको एजेन्सी बचाउन पार्टीभित्रको पद र पूर्वप्रधानमन्त्रीको हैसियत हदैसम्म दुरुपयोग गरेपछि आफ्नो छोराको त्यस्तै व्यापार र ठेक्का बचाउन नेकपा एमालेका नेता बामदेव गौतम अग्रसर हुुनुभएको छ ।
राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गर्नुभएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका बामदेव गौतमका सुपुत्र हरिश गौतम पनि चिनिया कम्पनीहरुको स्थानीय एजेण्टको रुपमा काम गर्नुहुन्छ ।
जापानीहरुले अनुमान गरेभन्दा झण्डै दोब्बर लागतमा सम्पन्न हुन लागेको पोखरा एअरपोर्ट निर्माणको जिम्मा चिनिया ठेकेदारलाई दिने सरकारमा नेता गौतम उपप्रधानमन्त्री हुनुहुन्थ्यो र पर्यटन मन्त्रालय पनि एमालेकै भागमा परेको थियो ।
नेता गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी एमसीसी सम्झौताका कारण ७४ वर्ष पहिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा असर पर्ने उललेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ सम्बन्धमा केही तल माथि प¥यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु ।’



















