काठमाडौं, ११ फागुन। परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन अनुरोध गरेको छ।
रसियाले युक्रनेका विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले अत्यावश्यक अवस्थामा त्यहाँ बस्नु परेमा बाहेक अन्यलाई स्वदेश फर्कन भनेको हो।
परराष्ट्रले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमणमा नजान समेत अनुरोध गरेको छ।
मन्त्रालयले हाल युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली बर्लिनस्थित युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावासको सम्पर्कमा रहेको जनाएको छ।
ती सबै सकुशल रहेको र युक्रनेमा रहेका अन्य नेपालीहरुलाई समेत सम्पर्कमा आउन मन्त्रालयले सूचनामा जारी गरेको छ।
सोमबार राति रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले युक्रेनको दोनेत्स र लुहान्स्कलाई स्वतन्त्र राज्यका रुपमा घोषणा गर्नुभएको थियो।
उहाँले पूर्वी युक्रेनमा सेना परिचालनका लागि निर्णय समेत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
युक्रेनका राष्ट्रपति भ्लोदमेयर जेलनेस्कीले पुटिनको उक्त कदमको विरोध गर्दै त्यसले युक्रेनको सार्वभौमसत्ता माथि प्रहार भएको प्रतिक्रिया दिनुभएको छ।

जेलनेस्कीले पुटिनको घोषणाले मिन्सक सम्झौताको उल्लंघन भएको बताएका छन्। यस्तै, अमेरिका, बेलायत लगायतका राष्ट्रहरुले रसियामाथि प्रतिबन्ध लगाउने घोषणा समेत गरेका छन्।


















