काठमाडौं, १२ फागुन। संयुक्त राज्य अमेरिकाले नेपालको गरिबी निवारणका लागि पूर्वाधार निर्माणमा मिलिनियम च्यालेञ्ज कर्पोरेशनमार्फत दिएको ६० अर्बभन्दा बढीको अनुदानसम्बन्धी संझौता पारित गर्न सत्तारुढ गठबन्धनको साझेदार नेकपा माओवादी सकारात्मक नभएपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलसंगको संवादलाई घनिभूत बनाएको छ ।
आज निर्धारित प्रतिनिधि सभाको बैठक स्थगित गरेर नेपाली कांग्रेर र नेकपा एमालेका शीर्ष नेताहरू संसद भवन बानेश्वरमा नै छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपालसहित दुई दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी हुनुभएको छ ।
दुई जिम्मेवार राजनीतिक दलहरुबीचको बैठकले एमसीसी पारित गर्ने कुनै भरपर्दो उपाय निकाल्ने विश्वास गरिएको छ ।


















