किभ(युक्रेन), १२ फागुन(बीबीसी)। रुसले युक्रेनमाथि हमला गरेपछि युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको युक्रेनी राष्ट्रपतिले बताउनुभएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस ब्रिफिङमा बोल्दै सम्बन्ध तोडिएको घोषणा गनुभएको हो।
फरक प्रसङ्गमा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराइने बताउनुभयो।
युक्रेनमा रुसले गरेको हमलाको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि विश्वले रुसलाई “उत्तरदायी बनाउने” बताउनुभएको छ।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले “रक्तपात र विध्वंसको बाटो रोजेको” प्रतिक्रिया दिनुभएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गर्नुभएको छ।
युक्रेनद्वारा सबै यात्रुवाहक विमानको उडान बन्द
युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले रुसी आक्रमणपछि देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ।
यात्रुवाहक विमानको उडान सुरक्षा “उच्च जोखिम”मा रहेका कारण किएभको समय अनुसार ०२ः४५ बजेदेखि सबै उडान रद्द गरिएको हो।
“यात्रुवाहक उडानका निम्ति युक्रेनी हवाई क्षेत्रमा हवाई ट्राफिक सेवाको प्रावधान निलम्बन गरिएको छ,”हवाई ट्राफिक सेवाले भनेको छ।
युक्रेनले अवकाश प्राप्त सैनिकलाई ‘हतियार दिने’
प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार रुसले सैन्य अतिक्रमण गरेपछि युक्रेनले आफ्ना अवकाश प्राप्त सैनिकहरूलाई हतियार दिने भएको छ।
युक्रेनका नागरिकहरूलाई भूगोल रक्षा एकाइहरूमा सामेल हुन प्रोत्साहित गर्न थालिएको भनिएका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो।
प्राप्त विवरणहरूमा जनाइएअनुसार रुसी सेनाले युक्रेनी सैन्य पूर्वाधार, विमानस्थल लगायतलाई निशाना बनाइरहेको छ।
रुसी आक्रमणबाट अहिलेसम्म आठजना मारिएको युक्रेनी प्रहरीले जनाएको छ।
रुसी बमबाट सात जनाको मृत्यु :युक्रेनी प्रहरी
NOW: Ukrainian Border Guard video, obtained by CNN, shows military tanks rolling into Ukraine from Belarus which borders Ukraine in the north. pic.twitter.com/aTrzvjylB1
— David Begnaud (@DavidBegnaud) February 24, 2022
युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको छ।
अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
त्यहाँ अन्य १९ जना हराइरहेका छन्।
मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ।
जोन्सनले आकस्मिक कोब्रा बैठकको अध्यक्षता गर्ने
ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले सरकारका विभिन्न निकायहरूको सहभागिता हुने आपत्कालीन कोब्रा बैठकको अध्यक्षता गर्न लागेको डाउनिङ स्ट्रीटले बताएको छ।
आजै ब्रिटिश संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’मा सम्बोधन गर्नुअघि उनले उक्त बैठकको अध्यक्षता गर्न लाग्नुभएको हो।
ब्रिटिश समय अनुसार बिहान ७ः३० बजे उक्त बैठक हुँदैछ। त्यसमा युक्रेनमा भएको “भयानक आक्रमण”बारे छलफल हुने बताइएको छ।
जोन्सनले जी सेभेन राष्ट्रका नेताहरूसँग पनि छलफल गर्ने बताइएको छ।
जोन्सनले पहिले नै भ्लादिमिर पुटिनले “रक्तपात र विध्वंशको मार्ग रोजेको” बताइसक्नुभएको छ।
उहँले यूके र उसका साझेदारले निर्णायक जवाफ दिने पनि बताउनुभयो।
रुसका पाँचवटा विमान खसाल्यौँः युक्रेनी सेना
युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ।
“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” सशस्त्र फौजले आफ्नो वक्तव्यमा भनेको छ।
रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ।
रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ।
पूर्ण स्तरको आक्रमण
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले आक्रमण गर्ने वित्तिकै ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’’ बताउनुभएको थियो।
उहाँले युक्रेनले ‘‘आफ्नो रक्षा गर्ने’’ बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिनुभएको थियो।
रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘‘भीषण गोलाबारी’’ गरेको युक्रेनको सैन्य बलले जनाएको छ।
रुसले युक्रेनको राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ।
युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ।
किएभका बासिन्दाले राजधानी छोड्न थाले
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५ः५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाथि हमला शुरू गरिएको विवरणहरूमा जनाइएको छ।
युक्रेनी राजधानी किएभमा आपत्कालीन साइरन बज्न थालेको छ र मानिसहरूले राजधानी छोडिरहँदा सडकमा कारहरूको ठूलो लाइन देखिएको छ।
मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूहसमूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ।
किएभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा पोस्ट गर्नुभएको छ।
रुसी हमलाबारे कसले के भने ?
युक्रेनमा रुसले गरेको हमलाबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया आउने क्रम जारी छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि उसलाई विश्वले उत्तरदायी बनाउने बताउनुभयो।
रुसविरुद्ध अमेरिकाले चाल्ने थप कदमबारे बाइडनले अमेरिकी नागरिकलाई सम्बोधन गर्ने तय भएको छ।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले रक्तपात र विध्वंसको बाटो रोजेको प्रतिक्रिया दिनुभयो।
थप कदमबारे छलफल गर्न उहाँले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोलटनबेर्गसँग कुराकानी गर्नुभएको छ।
मस्कोमाथि थप प्रतिबन्धहरू लगाउन युरोपेली सङ्घ ईयूका नेताहरू आज साँझ बैठक बस्न लागेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गर्नुभएको छ।
रुसले के केलाई निशाना बनाइरहेको छ ?
आफूले गरिरहेको “विशेष कारबाही”बारे बोल्दै युक्रेनी शहरमाथि हमला गरेको कुरा रुसले अस्वीकार गरेको छ।
सैनिक पूर्वाधार,हवाई प्रतिरक्षा र हवाई फौजलाई “अचुक निशाना हान्ने अस्त्रहरू”बाट प्रहार गरिरहेको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था रीआले जनाएको छ।
यसअघि युक्रेनी राष्ट्रपतिले रुसले क्षेप्यास्त्र हमला गरेको बताउनुभएको थियो।
क्षेप्यास्त्र हमला
समाचार संस्था रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गर्नुभएको छ।
युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उहाँले बताउनुभयो।
रुसी पक्षबाट त्यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन।
यसअघि रुसी राष्ट्रपतिले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताउनुभएको थियो।
अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनः नेटो
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोल्टनबेर्गले रुसको ूगैरजिम्मेवार आक्रमणू भन्दै निन्दा गर्नुभएको छ।
सामाजिक सञ्जाल ट्विटरमा एउटा पोस्ट गर्दै उहाँले रुसी कदमले अनगिन्ती नागरिकको जीवनमा जोखिममा पारेको बताउनुभयो।
“यो अन्तर्राष्ट्रिय कानुनको चरम उल्लङ्घन हो र युरो(एट्लान्टिक सुरक्षामाथि गम्भीर खतरा हो,” उहाँले थप्नुभयो।
रुसले पुनः शुरू गरेको “आक्रामक व्यवहार”बारे नेटोका साझेदारहरूले छलफल गर्ने उहाँले बताउनुभयो।
सैन्य कानुन लागु गर्न आह्वान
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले उहाँको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई सैन्य कानुन लागु गर्न भनेका छन्।
त्यसबारे निर्णय गर्न उक्त परिषद्ले आकस्मिक बैठक बोलाउने अपेक्षा गरिएको छ।
युक्रेनरुस तनावः तेलको भाउ सात वर्षयताकै उच्च
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा “सैन्य कारबाही” घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।
तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो।
जारी तनावको असर एशियाली शेअर बजारमा पनि देखिएको छ जहाँ व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ।
बीबीसीका एशियाली व्यापार संवाददाताका अनुसार लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ लाग्न थालेका छन्।
सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन्।
मेरो देशमा युद्ध घोषणा
संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूत सेर्गेई किजलिटाले राष्ट्रसङ्घका लागि रुसी राजदूतले आफ्ना राष्ट्रपतिले ‘मेरो देशमा युद्ध घोषणा गरेको’ पुष्टि गरेको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ।
युक्रेनको आन्तरिक मन्त्रालयले समाचार संस्था सीएनएनलाई भनेको छ,हमला सुरु भएको छ।”


















