मस्कट(ओमान), १२ फागुन ।आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले एक विकेटको क्षतिमा १६.२ ओभरमा नै हासिल गर्यो ।
नेपालको जितमा ओपनिड. ब्याट्म्यान कुशल भूर्तेलले ५५, आरिफ शेखले २१ र आशिफ शेखले १३ रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा ओमानका जिशन मसकुदले आसिफ शेखको एक विकेट लिए ।
यस अगाडि टस जितेर ब्याटिड. रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो।
ओमानका लागि कप्तान जिसन मक्सुदले २१ र आयान खानले १६ र कलिमुल्लाहले १४ बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन। जिसमले २८ बलमा ३ चौका प्रहार गरे।
त्यसबाहेक ओमानका कश्यप प्रजापति ५, जतिन्दर सिंह २, सोयब खान र नास्तोर डाम्बा समान ३–३, मोहम्मद नादिम र सन्दीप गौड समान १–१ रनमा आउट भए।
ओमानलाई रोक्न नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १३ रनमात्रै खर्चिए। यस्तै कमलसिंह ऐरी, आरिफ सेख, अविनाश बोहरा र सागर ढकालले समान १(१ विकेट लिए।
मंगलबार भएको सेमिफाइनलमा पराजित भएपछि दुबै टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका हुन। सेमिफाइनलमा हारेसँगै दुबै टोलीले यसैवर्ष हुने विश्वकप खेल्ने मौका गुमाएका थिए।
समूह चरणमा पनि नेपालले ओमानलाई हराएको थियो। ग्लोबल छनोटअघि भएको चारदेशीय खेलमा पनि ओमानविरुद्ध नेपाल विजयी भएको थियो।


















