किएभ(युक्रेन), १२ फागुन(बीबीसी) । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशैमा रुसी सेनाले ४ करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरेको छ।
यूके, ईयू र अन्य पश्चिमा साझेदार राष्ट्रहरूले रुसलाई दण्डित गर्न रुसविरुद्ध थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्, तर उनीहरूले आफ्नो सेना नपठाउने भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसैले रुससँग जोरी खोज्ने प्रयास गरे तत्काल प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले युक्रेनमा ठूलो सैन्य आक्रमण थालेपछि ठूला सहरनजिकै क्षेप्यास्त्र प्रहार तथा विस्फोटन भएका विवरणहरू प्राप्त भएका छन् ।
युक्रेनको सेनाले कम्तीमा छ वटा रुसी विमान खसालिदिएको दाबी गरेको छ भने कम्तीमा ४० युक्रेनी सैनिकको मृत्यु भएको जनाएको छ ।
युक्रेनमा केही सर्वसाधारण नागरिकको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ ।
मानिसहरू युक्रेनको राजधानी किएभ छोडेर अन्यत्र जाने प्रयास गरिरहेका छन्, रुसी आक्रमणका कारण मानिसहरू स्तब्ध देखिन्छन्, राजधानीमा सम्भावित हवाई आक्रमणको चेतावनी दिन साइरन बजाइएको छ ।
नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले रुसी आक्रमणको निन्दा गर्नुभएको छ ।
यूकेका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हिंसाको ज्वारभाटा उत्पन्न गराएको टिप्पणी गर्नुभएको छ ।
युक्रेनमा अहिले अन्योलको स्थिति छ र घटनाक्रम तीव्र गतिमा विकसित भइरहेको छ।
रुसी सैनिकहरू पूर्वमा पृथक्तावादीहरू भएको डोन्बास क्षेत्र, उत्तरमा बेलारुस र दक्षिणमा क्राइमियासहित धेरैतिरबाट युक्रेन छिरेका छन्।
अधिकांश सङ्घर्ष पूर्वमा केन्द्रित छ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभका बासिन्दाहरूका अनुसार रुसी र युक्रेनी सेनाबीच बम हानाहान हुँदा निरन्तर विस्फोटनका कारण आवासीय भवनका झ्यालहरू थर्किने गरेका छन्।
उत्तरमा राजधानी किएभ र दक्षिणमा बन्दरगाह सहर ओडेसा र मारिऊपोलमा दोहोरो भिडन्त भएका विवरणहरू प्राप्त भएका छन्।
रुसले युक्रेनी सैन्य आधारशिविर र विमानस्थललाई निसाना बनाएर हवाई आक्रमण गरेको छ। किएभनजिकै रहेको एउटा महत्त्वपूर्ण विमानस्थलमा ठूलो सङ्घर्ष भइरहेको बताइएको छ।
युक्रेनी सेनाले कम्तीमा ६ वटा रुसी विमान खसालेको दाबी गरेको छ भने रुसले ७० वटाभन्दा बढी युक्रेनी सैन्य स्थलमा क्षति पुर्याइएको जनाएको छ।
धेरै युक्रेनीहरूले सुरक्षित स्थलमा आश्रय लिन वा ठूला सहर छोडेर अन्यत्र जान खोजिरहेका छन्। राजधानी किएभ बाट हजारौँ मानिस बाहिर गएको देखिएको छ।
रुसले हवाई आक्रमण गर्न सक्ने डर फैलिएको बेला युक्रेनस्थित बीबीसीका सहकर्मीहरूका अनुसार सहरको मध्यभागमा साइरन बजेको सुनिन्छ।
धेरै मानिसहरूले मेट्रो स्टेशनमा आश्रय लिएका छन् भने सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।
युक्रेनमा रुसी आक्रमण जारी रहेको बेला त्यसको साक्षी बनेका पत्रकारहरूले युक्रेनभरिबाट त्यससम्बन्धी विवरणहरू पठाइरहेका छन्।
पूर्वी युक्रेनबाट प्राप्त भिडिओ र तस्बिरमा चूगूएफनजिकै रहेको एउटा सैन्य हवाई मैदानमाथि धुवाँको मुस्लो उडेको देखिन्छ।
भिडिओको आधिकारिकता पुष्टि भएको छ। तर त्यसको स्रोत पत्ता लागेको छैन।
रुसी सेनाको दाबी
रुसी सेनाले आक्रमणको प्रकृति र त्यसको औचित्यबारे विभिन्न दाबीसहित वक्तव्य जारी गरेको छ।
उसले आफूले समर्थन गर्ने पृथक्तावादी समूहको नियन्त्रणमा रहेका क्षेत्रलाई युक्रेनी सेनाको आक्रमणबाट जोगाउन आक्रमण गरेको दाबी दोहोर्याएको छ।
यद्यपति विज्ञहरूले रुसी दाबी अनुचित भएको बताएका छन्। पश्चिमा देशहरूले हप्तौँबाट रुसले आक्रमणका लागि कुनै बहाना बनाउन सक्ने बताउँदै आएका थिए।
रुसले आफूले गरेका आक्रमणहरूको लक्ष्यभेदन क्षमता उच्च भएको र सैन्य संरचनालाई मात्रै लक्षित गरिएको दाबी गरेको छ। तर आक्रमणमा ३० जना युक्रेनी सर्वसाधारण नागरिकको मृत्यु भएको विवरणहरू आएका छन्।
रुसी सेनाले युक्रेनी सेना हतियार र आफू रहेको स्थान छोडेर एकसाथ ठूलो सङ्ख्यामा पछि हटेको दाबी गरेको छ।
अर्कोतर्फ युक्रेनले आफ्नो कारबाहीमा ५० जना रुसी अतिक्रमणकारीहरू हताहत भएको र चारवटा रुसी विमान खसालेको दाबी गरेको छ। तर त्यसको पुष्टि हुन सकेको छैन।
युक्रेनका राष्ट्रपतिले देशभित्र हतियार माग्ने जोसुकैलाई पनि हतियार उपलब्ध गराइने बताउनुभएको छ।
युरोपमा दीर्घकालीन र गम्भीर परिणामः माक्रोँ
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसले युक्रेनमाथि गरेको आक्रमण युरोपको इतिहासमा एउटा नयाँ मोड भएको टिप्पणी गर्नुभएको छ।
राष्ट्रका नाममा सम्बोधन गर्दै माक्रोले फ्रान्स युक्रेनको पक्षमा उभिने बताउनुभएको छ।
रुसी कार्यबाट युरोपमा ूदीर्घकालीन र गम्भीरू परिणाम पर्ने उहाँको भनाइ छ।
माँक्रोले फ्रान्सले रुसविरुद्ध रुसी आक्रमकताको तहअनुसार प्रतिबन्ध लगाउने बताउनुभयो। उहाँका अनुसार सैन्य, अर्थतन्त्र र ऊर्जाको क्षेत्रमा कडा प्रतिबन्ध लाग्न सक्छ।
यूकेका प्रधानमन्त्री बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको र सहयोग दिने प्रस्ताव गरेको बताउनुभएको छ।
आफ्नो त्रास सही निस्किएको र रुसले आक्रमण गर्न सक्ने चेतावनी मिलेको उहाँको भनाइ थियो।
जोनसनले भन्नुभयो, “रुसका राष्ट्रपति पुटिनले युरोपमा युद्ध आरम्भ गरेका छन्। एउटा मित्रराष्ट्रमाथि कुनै पत्यारलाग्दो निहुँबिनै आक्रमण गरिएको छ।”
उहाँका अनुसार पूरै बेकसुर जनतामाथि बमको वर्षा भइरहेको छ। आकाशबाट र समुद्रबाट ठूलो आक्रमण भइरहेको छ।
युरोपको दोस्रो ठूलो देश युक्रेनले दशकौँदेखि स्वतन्त्रता र प्रजातन्त्र उपभोग गर्दै आएको स्मरण गर्दै जोनसनले भन्नुभयो, “हामी स्वतन्त्रतालाई मासिन दिन सक्दैनौँ। हामी सक्दैनौँ र बेवास्ता गर्दैनौँ।”
युक्रेनलाई यूकेले प्रतिरक्षाका लागि अस्त्र पठाएको उल्लेख गर्दै उहाँले अरू साझेदारहरूले पनि त्यसै गरेको तथा आगामी दिनमा पनि यूकेले सघाउने बचन दिनुभयो ।
टेलिभिजन सम्बोधनमा जोनसनले रुसी आक्रमणलाई पुटिनको घृणित र बर्बर काम भनेर निन्दा गर्नुभयो।
पुटिनले युक्रेनमा हिंसाको ज्वारभाटा सिर्जना गरेको आरोप जोनसनले लगाउनुभयो।
रुसी जनतालाई सम्बोधन गर्दै जोनशनले तपाईँहरूको नाममा यसो भइरहेको आफूलाई विश्वास नलागेको बताउनुभयो।
युक्रेनी जनतालाई सम्बोधन गर्दै जोनसनले भन्नुभयो ,”हामी तपाईँहरूको साथमा छौँ। हामी तपाईँहरू र तपाईँहरूका परिवारका लागि लागि प्रार्थना गर्दैछौँ।”
४० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु
रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
बीबीसी संवाददाताहरूका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ।
किएभका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन्।
युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ।
तर रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ


















