Prakash Adhikari February 25, 2022

 

मस्को(रुस), १३ फागुन(बीबीसी) । युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १ हजार ७ सय जनालाई पक्राउ गरिएको छ।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो।

 

विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९ सय जना र सेन्ट पिटर्सबर्गमा ४ सय जना पक्राउ परेका छन्।

Image

युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा रहेको सामाजिक सञ्जालमा राखिएका पोस्टमा देखिन्छ।

रुसी शहरहरूमा बाहेक विश्वका अन्य कैयौँ शहरमा पनि युद्धको विरोधमा प्रदर्शन गरेका छन्।

Image

सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन्।

युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन्।

त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ।

रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुनस् आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताउनुभएको छ।

उहाँका अनुसार हालसम्म सेना र सर्वसाधारण गरी १ सय ३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्।

युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ। देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ।

यसैबीच, पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।

तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन्। अर्को प्रसङ्मा अमेरिकाले युरोपमा ७ हजार थप सेना पठाउने भएको छ।

जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ।

संयुक्त राष्ट्रसङ्घले एक लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको अनुमान गरेको छ।

https://twitter.com/WW32022/status/1497038727293677572

Share Now

Leave a comment.