काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको शुक्रबारको बैठक बस्न नपाईकन स्थगित गरिएको छ ।
आज १ः०० बजेका लागि बोलाइएको बैठक आइतबार १ः०० बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले बताउनुभयो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्नुभएको थियो ।
उक्त भेटको सुरुमा नै मन्त्री बडूले बैठक आइतबार १ गतेसम्मका लागि सार्न आग्रह गर्नुभयो र सोही आग्रहअनुसार सभामुखले बैठक सार्नुभयो ।

शुक्रवारको बैठकमा एमसीसीमाथि सामान्य छलफल गर्ने कार्यसूची तय थियो । छलफलमा एमसीसीको सैद्धान्तिक पक्षबारे सांसदहरूले धारणा तय थियो । सामान्य छलफलमा भाग लिने सांसद्लाई पाँच मिनेटको समय दिइने कार्यव्यवस्था समितिको बिहीबारको बैठकले नै तय गरिसकेको थियो ।
कार्यव्यवस्था समितिले बिहीबार बैठकको कार्यसूचीलाई अन्तिम रूप दिएपछि प्रधानमन्त्री देउवाले हिजो पनि प्रतिनिधि सभाको बैठक स्थगित गर्न अनुरोधका लागि मन्त्री बडूलाई पठाउनुभएको थियो ।
प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ ।
जवाफ दिने मन्त्रीले निर्णयार्थ प्रस्तुत गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सभामुखले एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
उक्त प्रस्ताव ध्वनी मतबाट पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत हुनेछ । मत विभाजन मागे सभामुखले प्रतिनिधिसभा नियमावली अनुसार मत विभाजन गर्नुपर्नेछ ।
विदेश नीतिमा एक रुपता अपनाउनुपर्दछ भन्ने मान्यतासहित प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसंग सहमतिको प्रयास गरिरहनुभएको छ । सहमति जुटाउने आशामा एमसीसीमाथिको छलफल पछि सर्दै गएको छ ।


















