Prakash Adhikari February 25, 2022

 

काठमाडौं, १२ फागुन । नेपाल वायुसेवा निगमले टिकट पनि नभएका तथा पासपोर्ट र भिसा पनि नभएका एक व्यक्ति दोहा जाने जहाज चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै विमानस्थलका आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ ।

निगम व्यवस्थापनले फागुन ९ गतेका दिन दोहा उड्न लागेको जहाजमा अनधिकृत व्यक्ति चढेको विषयमा सुरक्षा व्यवस्थापनमा अत्यन्तै लापरबाही भएको ठहर समेत गरेको छ।
रौतहटका असरफ आलम गत ९ फागुनमा दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा चढेको अवस्थामा भेटिनुभएको थियो । उहाँ विमानस्थलको फलामे तालबार (फेन्सिङ कम्पाउन्ड) नाघेर यात्रुहरु बोर्ड गरिरहेको जहाजमा पुग्नुभएको थियो ।

निगमले यो घटनाबारे छानबिन समिति समेत गठन गरेको छ । नायव महाप्रन्धकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

समितिले १३ फागुनभित्र प्रतिवेदन दिने निगमले जनाएको छ । आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन नेवानिले प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

आलम गत फागुन ९ गते राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास उभिएको अवस्थामा भेटिनुभएको थियो ।

विमानभित्र पसिसक्नुभएका आलमले न बोर्डिङपास देखाउन सक्नुभयो, न अन्य कागजपत्र ।

त्यसलगत्तै निगमका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुलाई बोलाएए उहाँलाई विमानबाट ओरालेका थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुलाई चक्मा दिने गरी विमानसम्म पुगेको घट्नाले अन्तर्राष्ट्रिय एअरपोर्टको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ ।

आलमा सोमबार राति पौने १० बजे आयल निगमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको देखिएको छ ।

तर नेपाल आयल निगमको इन्धन डिपोको सुरक्षा गरिरहेको नेपाली सेना , अन्य सुरक्षा निकाय र नागरिक उड्डयन प्राधिकरणका सुरक्षाकर्मीले पनि यो सबै पत्तो पाएनन् । आलमा सरासर यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुग्न भ्याउनुभयो ।

अनुसन्धानमा आलम एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको तर त्यसबेला पनि मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो ।

विमानस्थलको बाह्य परिधि(आउटर पेरिमिटर)को सुरक्षा जिम्मा सेनाको भएकोले यो घट्नाले सेनाको कार्यसम्पादनमा समेत त्रुटी रहेको संकेत गरेको छ ।

Share Now

Leave a comment.