Prakash Adhikari February 25, 2022

 

काठमाडौं, १३ फागुन । सत्ता गठबन्धन कायम राख्न र एमसीसी संझौता पनि संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मरिमेटेर लाग्नुभएको छ ।

मध्य मार्गको खोजीका क्रममा अहिले प्रधानमन्त्री देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेटेर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको हो । भेटमा प्रधानमन्त्रीलाई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साथ दिनुभएको र प्रचण्डलाई अर्थमन्त्री जनार्दन शर्माले साथ दिनुभएको छ ।

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

यस पहिलो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।

भेटमा दुई नेताबीच अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा कुराकानी भएको थियो । सत्ता गठबन्धनका दलहरुले सरकारले प्रस्तुत गर्ने विधेयकको पक्षमा साथ नदिए प्रतिपक्षको साथ लिन प्रधानमन्त्री देउवा तयार देखिएपछि माओवादी र समाजवादीका नेताहरु दवावमा परेका छन् ।

आजै धनगढीबाट राजधानी फर्कनुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले काठमाडौं आएलगतै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटनुभएको थियो ।

त्यसपछि उहाँ पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा जुट्नुभयो र माओवादी अध्यक्ष प्रचण्डलाई पनि भेट्नुभयो ।

देउवा -नेपाल भेटवार्ता

शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गर्नुभएको थियो ।

बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थाल्नुभयो।

प्रधानमन्त्री देउवाले गठबन्धनले साथ नदिए एमालेको समर्थनमा एमसीसी संसदबाट अनुमोदन गर्न बाध्य हुने बताएपछि गठबन्धनका नेताहरु दबाबमा परेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेकोले नेपाली कांग्रेसले एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

Share Now

Leave a comment.