काठमाडौं,१३ फागुन। संयुक्त राज्य अमेरिकाको सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनले नेपालको गरिबी हटाउन सडक र विद्युत प्रशारण लाईन निर्माणमा दिएको ६० अर्ब सहयोग अनुदान लिने संझौता संसदबाट सबै दलको सहमतिमा पारित गराउने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसको उच्चस्तरीय टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेको छ ।
ओली निवासमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ ।
विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट जानुभएको हो ।
प्रधानमन्त्री देउवाको साथमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ भने एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी हुनुभएको छ ।
यसअघि सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग प्रधानमन्त्री देउवाले बालुवाटारमा अलग अलग वार्ता गर्नुभएको थियो ।


















