किएभ(युक्रेन), १३ फागुन(बीबीसी) । रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ ।भिडिओमा रुसी सैन्य वाहनहरू देखिन्छन् ।सरकारले नागरिकहरूलाई ‘मोलोटोभ ककटेल’ बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार देशभरि भएका हवाई आक्रमणहरूमा परेर कम्तीमा २५ गैरसैनिक नागरिकको मृत्यु भएको र १ सय २ जना घाइते भएका छन् । यूकेका रक्षामन्त्रीका अनुसार रुसका ४ सय ५० सैनिकको मृत्यु भएको छ ।
युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् ।
युक्रेनका राष्ट्रपतिले रुसले आफूलाई सिद्ध्याएर युक्रेनलाई राजनीतिक रूपमा रुसले ध्वस्त पार्न चाहेको बताउनुभएको छ ।
ब्ल्याक सीस्थित एउटा टापुमा आत्मसमर्पण गर्न नमान्ने १३ युक्रेनी सीमारक्षको हत्या भएको छ ।
रात्रिकालीन निषेधाज्ञा लगाइएको राजधानी किएभमा रुसको सम्भावित हवाई आक्रमणबाट जोगिन कैयौँ सर्वसाधारणले मेट्रो स्टेशनमा आश्रय लिएका छन् ।
This is the heart of the matter right now. This is what war brings. Innocent civilians become collateral damage. #Ukraine pic.twitter.com/WpAZgCUSbr
— James Melville 🚜 (@JamesMelville) February 25, 2022
युरोपेली सङ्घका शीर्ष नेतृत्वकर्ताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन् ।
अमेरिकाले पनि रुसका ब्याङ्क र सरकारी कम्पनीलक्षित प्रतिबन्धहरूको घोषणा गरेको छ ।
रुसको रक्षा गर्न अन्य कुनै विकल्प नरहेको बताउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो प्रतिरक्षा गरेका छन् ।
किएभमा युक्रेनी सैन्य गाडी, स्वयंसेवकलाई बन्दुक
Remember the heroes as Ukraine prepares for the battle of Kyiv.
Freedom is worth fighting for. https://t.co/uNBrduvTfF
— Victims of Communism (@VoCommunism) February 25, 2022
अघि बढिरहेका रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
किएभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए।
सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ।
यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मशीनगन प्रदान गरिएको जनाएको छ।
किएभनजिकै हवाई मैदानमा रुसको नियन्त्रण
रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको रुसी समाचारसंस्था इन्टरफ्याक्सले जनाएको छ।
10 thousand Russian 🇷🇺 guard soldiers preparing to go to Ukraine 🇺🇦 #UkraineRussia 💔 pic.twitter.com/65CMqG9Ak7
— mr.fafanyo 🇬🇭 (@1realkelly) February 25, 2022
होस्टोमेल एअरफील्ड कब्जा गर्न २ सय वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको बताइएको छ।
रुसले किएभसँगको पश्चिमा सम्पर्क अवरुद्ध भएको समेत बताएको छ।
पश्चिमा देशहरू रुसविरुद्ध एकबद्ध भएको बेला चीनले युक्रेनमाथि गरेको रुसी आक्रमणको खासै निन्दा गरेको छैन।
शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिन्पिङले वार्ताको माध्यमबाट युक्रेन सङ्कट समाधान गर्न चीनले रुसलाई समर्थन गर्ने बताएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।
युक्रेन रुस तनावका कारण विभिन्न मोर्चामा चीनसमक्ष चुनौतीहरू उत्पन्न भएका छन्।
चीनमा हुन लागेको ग्रीष्मकालीन ओलिम्पिक्समा सहभागी हुने विश्वका प्रमुख नेताहरूमध्ये रुसी राष्ट्रपति पुटिन पनि एक हुने ठानिएको छ।
त्यसबाट दुई देशबीच विद्यमान घनिष्ठ कूटनीतिक सम्बन्ध दर्साउँछ।
यसअघि चिनियाँ विदेशमन्त्रीले रुसले युक्रेनमाथि आक्रमण गरेको स्वीकार गरेका थिएनन्।
किएभको उत्तरपश्चिमी क्षेत्रमा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार
युक्रेनको राजधानी किएभबाट उत्तरपश्चिममा अवस्थित बुखाको एउटा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ।
बीबीसीले त्यो भिडिओको आधिकारिकता पुष्टि गरेको छ।
युक्रेनले राजधानीको उत्तरी भेगमा रुसी सेना प्रवेश गरेको बताएपछि यो भिडिओ सार्वजनिक भएको हो।
मृतकको सङ्ख्या बढ्दै जाँदा पुटिनमाथि युरोपमा शान्ति भङ्ग गरेको आरोप लागेको छ र अब त्यसले महादेशको सम्पूर्ण सुरक्षा संरचनालाई खतरामा पार्न सक्छ।
च्याम्पिअन्स लीगको फाइनल खेल रुसमा नहुने
रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिअन्स लीग प्रतियोगिताको फाइनल खेल रुसको साटो फ्रान्समा हुने भएको छ।
यसअघि युरोपेली फुटबलको सबैभन्दा सम्मानित प्रतियोगिताको फाइनल खेल सेन्ट पिटर्सबर्गमा मे २८ मा हुने कार्यक्रम थियो।
शुक्रवार आयोजित एउटा बैठकमा यूईएफएले त्यसबारे निर्णय गर्दै फाइनल खेल फ्रान्समा गर्ने निर्णय गरेको हो।
रुसद्वारा यूकेसँग सम्बद्ध विमानहरूमाथि प्रतिबन्ध
रुसले युक्रेनमा अतिक्रमण गरेपछि उसको राष्ट्रिय ध्वजावाहकमाथि ब्रिटेनले प्रतिबन्ध लगाएपछि रुसले पनि जबाफी कदम चालेको छ।
रुसले यूके सम्बद्ध विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा उड्नमा प्रतिबन्ध गरेको छ।
“यूकेसँग सम्बद्ध संस्था अथवा यूकेमा दर्ता भएका संस्थाको स्वामित्वमा रहेका,भाडामा लिइएका वा तिनीहरूबाट सञ्चालित सबै विमानहरूको रुसी हवाई क्षेत्रमा उडानमा प्रतिबन्ध लगाइएको छ,” रुसी उड्डयन निकायले भनेको छ।
यूकेका उड्डयन अधिकारीहरूले गरेका “गैरमित्रवत् निर्णय”को जबाफमा पछिल्लो कदम चालेको रुसले जनाएको छ।
युक्रेनी सेनाद्वारा सबै उमेरका मानिसलाई भर्ती हुन आग्रह
युक्रेनको रक्षा मन्त्रालयले उमेरको वास्ता नगरी सबैलाई सेनामा भर्ती हुन भन्दै पुनः ट्वीट गरेको छ।
सैन्य कमान्डर युरी गलुश्किनलाई हवाला दिँदै वक्तव्य जारी गरिएको छ।
“आज युक्रेनलाई सबै थोक चाहिएको छ। सेनामा भर्ती हुने सबै प्रक्रिया सरल बनाइएको छ।”
“आफ्नो पासपोर्ट र पहिचान खुल्ने नम्बर मात्र लिएर आउनुहोस्। उमेरको कुनै छेकबार छैन।”
रुसद्वारा २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारीः युक्रेन
युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको जनाएको छ।
“गैरसैनिक स्थलहरूमा आक्रमण नगरेको रुसीहरूले दाबी गरेका छन्। तर गत २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा हमला भएको छ,” भेडिम देनिसेन्कोले समाचारसंस्था रोयटर्ससँग भन्नुभयो।
रुसी फौज तीव्र रूपमा उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किएभतर्फ बढिरहेका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी आक्रमणकारीहरू सहरभित्र पहिल्यै पुगिसकेका छन्।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किएभ क्षेत्रमा गुडिरहेको देखिएको छ।
केही क्षणअघि युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू किएभको उत्तरमा रहेको ओबोलोन क्षेत्रमा छिरेको पुष्टि गरेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरू स्थानीय बासिन्दाहरूले आफ्नो घरबाट खिचेको जस्तो देखिन्छ।
यी भिडिओ ओबोलोनमै खिचिएको बीबीसीले पुष्टि गरेको छ।
रुसले ४५० सुरक्षाकर्मी गुमाएको छः यूकेका रक्षामन्त्री
यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन्।
“युक्रेनले प्रतिकार गरेका कारण रुस विफल भएको छ,” रेडिओ फोरसँग कुरा गर्दै बेन वोलिसभने।
युक्रेनले घातक अस्त्रहरू सहयोगमा पाएर प्रतिकार गरेको कारण रुस विफल भएको उनले उल्लेख गरे।
“रुसी सशस्त्र फौजले करिब ४५० जना सदस्य गुमाएको छ। किएभदेखि केही पर उत्तरमा रहेको विमानस्थल कब्जामा लिन पनि उसको विशेष फौज विफल भएको छ।”
रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगे
रुसी सैनिकहरू राजधानी किएभ पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्।
युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा शत्रु ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ।
युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्।
बीबीसी संवाददाताहरूका अनुसार ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ।
किएभमा सुनियो गोली हानाहानको आवाज
रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आइरहेका छन्।
बीबीसी संवाददाता पोल एडम्सले पनि आफूले त्यस्तो आवाज सुनेको बताएका छन्।
अनुसन्धनात्मक पत्रकारिता गर्ने बेलिङ्क्याट वेबसाइटका कार्यकारी निर्देशक क्रिस्टो ग्रोजेभले गोली हानाहानको आवाज सुनिने भिडिओ फुटेज पोस्ट गरेका छन्।
‘युक्रेनमा मानवताविरुद्धको सम्भावित अपराधबारे अनुसन्धान हुनसक्छ’
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युक्रेनमा मानवताविरुद्धको सम्भावित अपराधबारे आफूले अनुसन्धान गर्न सक्ने बताएका छन्।
युक्रेनमा रुसी अतिक्रमणप्रति चिन्ता व्यक्त गर्दै प्रमुख अभियोजनकर्ता करिम खानले सबै पक्षबाट भइरहेका आक्रमकताबारे स्मरण गराउनुभएको हो ।
आईसीसीको क्षेत्राधिकार प्रयोग गरी नरसंहार, मानवताविरुद्धको अपराध अथवा युक्रेनभित्र भएका युद्ध अपराधबारे अनुसन्धान गर्न सकिने उहाँले बताउनुभयो।
रुसले सैन्य संरचनामाथि मात्रै नभई गैरसैनिक क्षेत्रमा पनि आक्रमण गरिरहेको युक्रेनी सेनाले जनाएको छ।
तर रुसी रक्षा मन्त्रालयले गैरसनिक क्षेत्रमा कुनै हमला नगरिएको दाबी गर्दै आएको छ।
किएभभरि सुनियो खतरा जनाउने साइरन
रुसले आक्रमण गरेपछि युक्रेनको राजधानी किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको छ।
बीबीसी संवाददाताहरूले साइरन बजिरहेका बेला भिडिओ खिचेका छन्।
रुसी रकेटहरूले गैरसनिक तथा सैन्य संरचनाहरूलाई प्रहार गरेपछि बिहीवार रातभरि र शुक्रवार सखारै खतरा जनाउने साइरन बजेकोबज्यै थियो।
“रातभरि जागा बसेकाले किएभमा कोही उठ्नै परेन,” संवाददाता निक बीकले भन्नुभएको छ।
युद्ध अन्त्य गर्न रुसले कुरा गर्नुपर्छः युक्रेन
रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्नुभएको छ।
सो क्रममा उहाँले रुसले शुक्रवार सखारै थुप्रै आक्रमणहरू गरेको पुष्टि गर्नुभयो।
जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताउनुभयो।
“यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले हामीसँग कुरा गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो।
“जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुन्छ।”
आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि उहाँले बताउनुभयो।
गोली हानाहान हुँदै गरेको भिडिओ सार्वजनिक
युक्रेनको पश्चिमोत्तर सहर सुमीको एउटा सडकमा रुसी र युक्रेनी सैनिकहरूबीच गोली हानाहान भइरहेको भनिएको एउटा भिडिओ युक्रेनको सेनाले सार्वजनिक गरेको छ।
रुसी सीमादेखि ३० किलोमिटर टाढा पर्ने क्षेत्रीय राजधानी सुमीको जनसङ्ख्या २ लाख ६० हजारभन्दा बढी छ।
स्थानीय प्रशासकका अनुसार रुसी सेनाको एउटा ठूलो लस्कर सुमीको पश्चिमतिरबाट राजधानी किएभतर्फ बढिरहेको छ।
त्यसको नजिकै अवस्थित कोनोटोप सहरलाई पनि रुसी फौजले घेरा हालेको छ।
रुसी आक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने चेतावनी
लडाइँ जारी रहँदा र रुसी फौजहरू अगाडि बढिरहँदा ठूलो सङ्ख्यामा युक्रेनका नागरिक सुरक्षित स्थलतर्फ भाग्न थालेका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार बिहीवार मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् जसमध्ये अधिकांश आन्तरिक रूपमा विस्थापित भएका छन्।
पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधिहरू दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्रहरू स्थापना गरेको छ।
यद्यपि मानिसहरू सीमा कटिनसकेको बताइएको छ। कतिपय युक्रेनीहरू रोमानिया र हङ्गेरी पुगेका छन्।
अमेरिकाले रुसी अतिक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ।
ब्रिटेनका अग्रणी मानव अधिकार सङ्गठनहरूको एउटा समूहले ठूलो सङ्ख्यामा शरणार्थीहरूलाई स्वागत गर्न अपील गरेको छ।
रुसी फौजद्वारा युक्रेनको एउटा टापु कब्जा
रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ।
युद्धपोतबाट रुसी पक्षले आत्मसमर्पण गर्न भनेपछि स्नेक आइल्यान्डमा रहेका सीमा सुरक्षा गार्डहरूले सानो स्तरमा र अवज्ञाकारी सन्देशमार्फत् प्रतिवाद गरेको युक्रेनी आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
त्यसपछि रुसी पक्षले गरेको बमबारीमा युक्रेनी सीमामा परिचालित १३ सुरक्षाकर्मीको ज्यान गएको थियो।
उनीहरूलाई “युक्रेनका नायक” का रूपमा सम्मानित गरिने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
राजधानी किएभलाई घेरा हाल्ने रणनीति
ब्ल्याक सी तटबाट बाटो बनाउँदै अघि बढेको रुसी सेनाको राजधानी किएभलाई घेरा हाल्ने रणनीति बनाएको युक्रेनी सेनाले जनाएको छ।
किएभदेखि १५ किलोमिटर उत्तरमा अवस्थित एउटा विमानस्थललाई नियन्त्रण गर्न विमानमार्फत् पुगेका रुसी सैनिकहरूमाथि युक्रेनी सेनाले ले प्रत्याक्रमण गरेको छ।
क्राइमियाबाट उत्तरतर्फ लागेको रुसी फौजका लश्कर तीव्र गतिमा अगाडि बढिरहेका छन्।
युक्रेनको पूर्वी सीमामा पनि लडाइँ चर्किरहेको छ। सुमी नगररमा रातभरि भीषण भिडन्त भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार कोनोटोप सहरलाई घेरा हालिएको छ र रुसी फौज किएभको पश्चिमतर्फ बढिरहेको छ।
युक्रेनी सेनका अनुसार रुसी सेनाका ६० वटा रणनीतिक डफ्फा युक्रेनभित्र छिरिसकेका छन्।
रुसी सेनाका दर्जनौँ ट्याङ्कका साथै हेलिकप्टर तथा लडाकु विमानहरू ध्वस्त पारिएको युक्रेनी सेनाले दाबी गरेको छ।
रुस भित्रै प्रदर्शन, सयौँ मानिस गिरफ्तार
युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।
राजधानी मस्को, सेन्ट पिटर्सबर्ग र अन्य मुख्य सहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १ हजार ७ सय जनालाई पक्राउ गरिएको छ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो।
विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९ सय जना र सेन्ट पिटर्सबर्गमा ४ सय जना पक्राउ परेका छन्।
पश्चिमी प्रतिबन्ध
रुसले युक्रेनमाथि आक्रमण गरेपछि उसले विभिन्न प्रतिबन्धहरूको सामना गर्नुपरेको छ।
विशेषगरी अमेरिका र पश्चिमा देशहरूले उसमाथि विभिन्न खाले प्रतिबन्धहरू लगाएका छन्।
त्यस्ता प्रतिबन्धमा थप विस्तार हुनसक्ने ठानिएको छ।
युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने
रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्।
युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ।
जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।
एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १ सय ३७ युक्रेनीहरूले ज्यान गुमाएको बताउनुभएको छ।
युरोपेली सङ्घद्वारा ‘व्यापक’ प्रतिबन्ध सार्वजनिक
युक्रेनमाथि सैन्य आक्रमण गरेको रुसमाथि युरोपेली सङ्घ ईयूले ठूलो स्तरको नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ।
सो क्रममा युरोपेली सङ्घकी अध्यक्ष उर्जुला फोनडेअर लायनले युरोपमा परिवर्तनकारी क्षणबारे धारणा राख्नुभएको छ।
नयाँ प्रतिबन्धले आर्थिक क्षेत्र, ऊर्जा,यातायात र रुसी संभ्रान्त व्यक्तिहरूको भिसालाई लक्षित गरेको ब्रसल्समा शुक्रवार सखारै सकिएको बैठकपछि उहाँले बताउनुभयो।
तेल प्रशोधन केन्द्रहरूमा स्तरोन्ति गर्नका लागि प्रविधिहरू अथवा विमानका पार्टपुर्जा खरिद गर्न नयाँ कदमले रुसलाई असम्भव तुल्याउने फोनडेअर लायनले उल्लेख गर्नुभयो।
“आज राति अनुमोदित व्यापक र लक्षित प्रतिबन्धहरूले ईयू कत्तिको एकढिक्का छ भन्ने देखाएको छ,” उहाँले ट्वीटमार्फत् भन्नुभएको छ।
फ्रेन्च राष्ट्रपति एमानुएम माक्रोँले ३० करोड युरो सहायताका साथै सैन्य उपकरण पनि उपलब्ध गराइने बताउनुभयो।
नयाँ प्रतिबन्धले ईयूमा रुसी ग्यासको आयातलाई चाहिँ छोएको छैन।
युक्रेनको राजधानी किएभमा कैयौँ विस्फोटको खबर
रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका खबर आइरहेका छन्।
सीएनएनको एउटा टोलीका अनुसार शुक्रवार सखारै मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको थियो।
आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो।
त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उहाँले बताउनुभयो।
युक्रेनी सेनाले त्यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।
किएभमा रुसी विमान खसालियो
राजधानी किएभमा शुक्रवार एउटा रुसी विमान खसालिएको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ।
सेभेन ए कोशिट्सिआ स्ट्रीटमा एउटा घरनजिक जेट खसेको एन्टोन हेराश्चेन्कोले बताउनुभयो।
किएभनजिक पर्ने ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा छजना मारिएका छन्।


















