काठमाडौँ, १५ फागुन । कांग्रेसले युक्रेनमा रुसबाट भएको सैन्य हस्तक्षेपका कारण प्रभावित नेपालीहरूलाई उद्धार गरी स्वदेश फर्काउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले युक्रेनका जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको सुरक्षा र शीघ्र उद्धारको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
उहाँले कांग्रेसको अनुरोधमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गर्ने प्रबन्ध मिलाइरहेको समेत जानकारी दिनुभएको छ ।
प्रवक्ता महतले सामाजिक सञ्जालमार्फत् आग्रह गर्दै भन्नुभएको छ , ‘हामी युक्रेनको राजधानी किभ र युद्ध प्रभावित क्षेत्रमा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा रहन र युक्रेनसमेत हेर्ने जिम्मेवारी प्राप्त जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले दिएका निर्देशनहरुको पालना गर्न आग्रह गर्दछौं ।’
उहँले युक्रेन र छिमकी मुलुकमा रहेका पार्टीका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संगठनहरुलाई युक्रेनमा रहेका नेपालीहरुको सुरक्षा र उद्धार कार्यमा सरकारले गरेको प्रयासमा सघाउनसमेत आग्रह गर्नुभएको छ ।
सरकारको प्रयास
सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो ।
दूतावासले विज्ञप्तिमा भनेको छ, युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ । सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरूतर्फ जान सकिने दूतावासले जनाएको छ ।
सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी र डिजिटल फोटो दूतावासको इमेल ठेगानामा पठाउन पनि दूतावासले आग्रह गरेको छ ।
दूतावासले स्लोभाकिया पुगेपछि ००४२१९४०७७८५९४४ नम्बरमा जय प्रसाद शिवाकोटी, पोल्याण्ड पुगेपछि ००४८६०६८५२८३७ नम्बरमा मा डा। बोधराज सुवेदी र ००४८७२९२१२६७३ नम्बरमा जीवन कुमार क्षेत्री र हंगेरीमा ००३६७०५३०८७९३ मा सुरेन्द्र श्रेष्ठलाई सम्पर्क गर्न भनेको छ ।
रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ हवाई उडन निषेध गरिएका कारण त्यहाँ रहका विदेशीको उद्धार हुन सकेको छैन ।
यसैक्रममा स्वदेश फर्कन चाहने विदेशीको लागि छिमेकी स्लोभाकिया, पोल्याण्ड र हंगेरीले सीमा खुला गरिदिएपछि स्थल मार्गबाट उद्धार प्रक्रिया अघि बढाइएको हो ।
युक्रेनमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । उनीहरू सबै हालसम्म सुरक्षित रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार स्थायी रूपमा बसोबास गर्ने ३८ जना र युरोप र अमेरिका जाने क्रममा रहेका करिब २ सय नेपाली युक्रेनमा रहेका छन् । गैरआवासीय नेपाली संघले भने युक्रेनमा करिब ४ सय नेपाली रहेको बताएको छ ।


















