Prakash Adhikari February 27, 2022

भिक्टोरिया गिल । बीबीसी विज्ञान संवाददाता

युक्रेन, १५ फागुन । रुसी सेनाले कब्जा गरेको चर्नोबल पारमाणविक ऊर्जा केन्द्रनजिकै विकिरणको परिमाणमा वृद्धि भएको एउटा अनुगमन तथ्याङ्कले देखाएको छ।

सन् १९८६ मा संसारकै सबैभन्दा नराम्रो आणविक दुर्घटना भएको उक्त स्थानलाई युक्रेनमा आक्रमण गर्न आएको रुसी फौजले नियन्त्रणमा लिएको युक्रेनले जनाएको थियो।

बिहीवार त्यहाँ विकिरणको परिमाण २० गुणाले वृद्धि भएको सो स्थानमा रहेको अनुगमन केन्द्रले जनाएको छ।

तर विज्ञहरूले अर्को ठूलो परमाणुविपद्को सम्भावना खासै नरहेको बताएका छन्।

उक्त प्रयोगविहीन केन्द्र आसपासको ४,००० वर्ग किलोमिटर क्षेत्रको प्रदूषित भूमिमा शक्तिशाली सैनिक सवारीसाधनहरूको आवागमनका कारण उक्त वृद्धि भएको युक्रेनको परमाणु नियामक अनुगमनकर्ताले जनाएको छ।

सबैभन्दा ठूलो वृद्धि क्षतिग्रस्त रियाक्टरनजिकै अनुभव गरिएको थियो। त्यहाँ विकिरणको मात्रा नियमित अनुगमन गरिन्छ र घण्टैपिच्छेको विवरण दिइन्छ।

रियाक्टरनजिकै साधरणतया प्रत्येक घण्टा माइक्रोसीभर्ट्समा तीन एकाइको एक मात्रा उत्सर्जन हुन्छ। तर बिहीवार त्यो मात्रा बढेर ६५ माइक्रोसीभर्ट्स प्रतिघण्टा पुगेको थियो जुन एउटा ट्रान्सएट्लान्टिक उडानमा प्राप्त हुनेभन्दा पाँचगुणा बढी हो।

चर्नोबलमा विकिरणको मात्रा

चर्नोबलमा विकिरणको मात्रा

विज्ञ के भन्छन् ?
सेफील्ड विश्वविद्यालयका परमाणु सामग्रीसम्बन्धी विज्ञ प्राध्यापक क्लेअर कोर्कहिलका अनुसार उक्त वृद्धि ‘स्थानीय’ प्रकृतिको थियो र मुख्य मार्ग र रियाक्टरछेउछाउ देखिएको थियो।

“चर्नोबल क्षेत्रभित्र र आसपास भएको मानिस र सवारी साधनको आवतजावतले भुइँमा रहेको रेडिओधर्मी कणलाई चलाएको हुनुपर्छ”, प्राध्यापक कोर्कहिलले भन्नुभयो, “यदि कुनै पनि थप आवतजावत भएन आगामी केही दिनमा नै त्यो घट्नुपर्ने हो।”

तर उक्त क्षेत्रमा कुनै सैन्य गतिविधि चिन्ताको विषय हो।

राजधानी किएभबाट १ सय ३० किलोमिटर उत्तरमा पर्ने उक्त केन्द्र युक्रेनी पक्षसँग भीषण सङ्घर्षपछि रुसी सैनिकहरूले कब्जा गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

चर्नोबल परमाणु केन्द्र

चर्नोबल परमाणु केन्द्र

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ‘सन् १९८६ को विपद् नदोहोरिओस्” भनेर त्यसको रक्षा गर्न युक्रेनी अधिकारीहरूले प्रयास गरेको बताउनुभएको थियो।

राष्ट्रपतिले रुसले चर्नोबलमाथि गरेको हमला ‘सम्पूर्ण युरोपमाथिको युद्धको घोषणा भएको’ जनाउनुभयो।

रुसी अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

चर्नोबलस्थित क्षेत्रमा कैयौँ परमाणु फोहोर नियन्त्रणका संरचना छन् जसमा नयाँ सुरक्षित क्षेत्र पनि पर्छ।

सुरक्षा प्रदान गर्ने ठूलो छानोजस्तो संरचनाले चौथो नम्बरको रियाक्टरलाई ढाकेको छ जुन दुर्भाग्यपूर्ण ढङ्गले विस्फोटन हुँदा सन् १९८६ को ठूलो विपद् निम्तिएको थियो।

“यी भवनहरू रेडिओधर्मी सामग्रीलाई यहाँभित्रै राख्न बनाइएको हुन्। उनीहरू युद्ध मैदानमा प्रयोग गर्ने हिसाबमा तयार गरिएका छैनन्”, प्राध्यापक कोर्कहिलले भन्नुभयो।

सन् १९८६ यता उक्त केन्द्रमा रेडिओधर्मी विकिरण उल्लेख्य रूपमा घटेको छ।

“त्यस बेला एउटा भीषण आगलागीले विकिरण उत्सर्जन गरेको थियो “, प्राध्यापक कोर्कहिलले थप्नुभयो। त्यस्तै विपद्को सम्भावना लगभग नरहेको उहाँको भनाइ छ।

परमाणुनीतिसम्बन्धी विज्ञ प्राध्यापक जेम्स अक्सनले बिहीवार लेख्नुभएको थियो, “चर्नोबल बसोबास नरहेको एउटा ठूलो क्षेत्रमा छ। युक्रेनका अरू रीयाक्टरहरू त्यस्ता रिक्त स्थानमा छैनन्। परमाणु ऊर्जाकेन्द्रहरू युद्ध क्षेत्रका लागि बनाइएका होइनन्।”

इन्टरन्याश्नल एटोमिक एनर्जी एजेन्सी )आईएईए)ले युक्रेनले शुक्रवार आफ्नो देशका परमाणु रीयाक्टरहरूले सुरक्षित रूपमा काम गरिरहेको जानकारी गराएको बताएको छ।

Share Now

Leave a comment.