दमौली(तनहुँ), १५ फागुन । लोकप्रिय अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँको दमौलीमा आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।
यसअघि शाहले आफ्नो फेसबुक स्टाटसमा आजै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
तनुहँकै एक नाबालिग गायिकाको तर्फबाट गत बुधबार उनीमाथि जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो ।
सो जाहेरी पछि प्रहरीले पक्राउ आदेश जारी गरेकोले उनी त्यसयता फरार रहँदै आएका थिए ।
आइतबार सामाजिक सञ्जोलमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने र म यस्तो गीत गाउँछु २ को देशभर प्रदर्शन भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’
शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।



Paul Shah














