Prakash Adhikari February 27, 2022

किएभ(युक्रेन), १५ फागुन(बीबीसी) । रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण भएकोले मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया दिनुभएको छ।

“त्यो भूभागबाट हामीमाथी आक्रमणनगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो‘ अरू सहरहरूलाई वार्तास्थलका रूपमा प्रयोग गर्न सकिन्छ।” राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो , “हामी शान्ति चाहन्छौँ, हामी भेट्न चाहन्छौँ, हामी युद्धको समाप्ति चाहन्छौँ। वार्सा, ब्रटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकु – हामीले यी सहर रुसीहरूलाई प्रस्ताव गरेका छौँ।”

उहाँले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै पनि शहरमा वार्ता हुनसक्ने बताउनुभयो।

“हामीमाथि क्षेप्यास्त्र प्रहार नभएको अन्य जुनसुकै क्षेत्रको सहर भए पनि हुन्छ। यो मात्रै इमानदारितापूर्वक वार्ता गर्ने र युद्ध साँच्चिकै अन्त्य गर्ने बाटो हो।”

फिनल्यान्ड र आयरल्यान्डमा रुसी विमान प्रतिबन्धित

फिनल्यान्ड र आयरल्यान्डले रुसी विमानका लागि आफ्नो आकाश बन्द गर्ने घोषणा गरेका छन्।

कहिलेदेखि सो निर्णय लागु हुन्छ भन्ने कुरा स्पष्ट छैन।

फिनल्यान्ड र रुसबीच १,३०० किलोमिटर लामो सीमा छ। यसर्थ रुसबाट पश्चिमतर्फ जाने हवाई मार्ग बन्द हुनेछन्।

चेक गणतन्त्र, इस्टोनीया, जर्मनी, पोल्यान्ड र यूकेले यस्तै निर्णय गरिरहेका छन्।

रुसले पनि ती देशहरूको विमानलाई आफ्नो आकाशमा उड्न रोकेको छ।

“म यहीँ छुु” युक्रेनी राष्ट्रपतिको भाइरल भिडिओ

युक्रेनका राष्ट्रपतिले आफूले राजधानी छोडेको र सेनालाई हतियार बिसाउन निर्देशन दिएको भन्ने मिथ्या सूचनालाई गलत साबित गर्न सामाजिक सञ्जालमा राखेका भिडिओहरू भाइरल भएका छन्।

भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभका विभिन्न परिचित स्थानहरूबाट सामाजिक सञ्जालमा भिडिओ हाल्दै आउनुभएको छ।

किएभमा विस्फोटन र साइरन
किएभको सिटी सेन्टरको पश्चिममा आइतवार विस्फोटनको आवाज सुनिएको विवरण आएका छन्।

हवाई आक्रमणको साइरन बजेको एक घण्टापछि उक्त घटना भएको हो।

नोभा काखोभ्का रुसको हातमा
युक्रेनी सञ्चारमाध्यमले युक्रेनको दक्षिणी सरह नोभा काखोभ्का रुसले नियन्त्रणमा लिएको युक्रेनी सञ्चारमाध्यमले बताएका छन्।

सानो भए पनि नीपर नदीको किनारमा रहेको यो सहरले क्राइमियानजिकै रहेको छ।

नोभा काखोभ्काका नगरप्रमुखले रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको बताउनुभएको छ।

विज्ञहरूले रुसी आक्रमण अहिलेसम्म युक्रेनको दक्षिणतिर सबैभन्दा सफल रहेको बताएका छन्।

रुसी सेना युक्रेनको दोस्रो ठूलो सहरमा

रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको बताए।

यसअघि नै रुसी सैन्य कारहरू खार्किभको सडकमा गुडेका भिडिओहरू सार्वजनिक भएका थिए।

सिनेगुबोभले सबै नागरिकलाई घरभित्रै रहन भन्नुभएको छ।

“आफ्नो वासस्थान नछोठ्नुहोस्। युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्। नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ।”

यसअघि उत्तर-पूर्वी सहर खार्किभको एक नौ तले भवनमा रुसी रकेट आक्रमण हुँदा एक महिलाको मृत्यु भएको राज्य आपत्काल सेवाले जनाएको थियो।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई रुसले फेब्रुअरी २४ देखि नै निसानामा खारेको छ।

उता राजधानी किएभमा भने बिहान ७:३० सम्म रुसले कुनै आक्रमण गरेको छैन। शनिवार राति आक्रमण हुनसक्ने चेतावनी दिइएको भए पनि त्यहाँको अवस्था शान्त रहेको नगर उपप्रमुख माइकोला पोभोरोज्न्याकले बताउनुभयो।

इलोन मस्कद्धारा युक्रेनलाई इन्टरनेट

स्पेक्सएक्स अरबपति इलोन मस्कले रुसी आक्रमणले प्रभावित युक्रेनको इन्टरनेट सञ्जाल सुधार गर्नका लागि स्टारलिङ्क स्याटलाइट ब्रोडब्यान्ड परिचालन गर्नुभएको छ।

युक्रेनका उपप्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा गरेको अनुरोधमा प्रतिक्रिया जनाउँदै मस्कले यस्तो घोषणा गनुृभएको हो।

भीषण लडाइँ भएका दक्षिणी र पूर्वी युक्रेन अनलाइन सेवा खराब भएका छन्।

स्टारलिङ्क प्रणालीसँग करिब १,५०० भूउपग्रहहरू रहेका छन् र तिनले फाइबर अप्टिक केबल वा फोन टावरबिना पनि इन्टरनेट सेवा दिन सक्छन्।

जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने

आफ्नो नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्दै जर्मनीले अब युक्रेनलाई हतियार उपलब्ध गराउने चान्सलर ओलाफ सोल्सले बताउनुभएको छ।

चान्सलर सोल्सले युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै जर्मनीले एउटा एन्टीट्याङ्क अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने जानकारी दिनुभयो।

जर्मनीले द्वन्द्व प्रभावित क्षेत्रमा आफ्नो देशमा निर्मित अस्त्र पठाउन लगाइएका कतिपय रोक पनि हटाएको छ जसको अर्थ तेस्रो देशहरूले पनि युक्रेनमा थप हतियारहरू पठाउन सक्छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई नेटो साझेदारहरूका मद्दतबाट सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता यसअघि जनाउनुभएको थियो।

यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अस्ट्रेलियाले सैनिक सामग्री र स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने जनाएको छ।

रुसलाई स्वीफ्ट ब्याङ्किङ प्रणालीबाट अलग गरिने

अमेरिका, क्यानडा र ब्रिटेनसमेत आबद्ध पश्चिमा देशहरूको गठबन्धनले रुसी ब्याङ्कहरूलाई स्वीफ्ट नामक अन्तर बैंकिङ कारोबार प्रणालीबाट अलग गर्ने निर्णय गरेका छन्।

रुसविरुद्ध कडा कदमहरू चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु भएको बताउनुभयो।

उहाँले रुसी ब्याङ्कहरूलाई स्वीफ्टबाट अलग गर्दा रुसीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गर्नुभयो।

यस्तै रुसी केन्द्रीय ब्याङ्कलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ।
शक्तिशाली विस्फोट र ग्यास पाइपलाइनमा क्षति

युक्रेनको राजधानीका बासिन्दाहरूले भूमिगत आश्रय लिएर अर्को रात कटाइरहँदा किएभ नजिकै शक्तिशाली विस्फोटनको आवाजहरू सुनिएका छन्।

एउटा विस्फोटन भासीलकीभको एउटा तेल टर्मिनलमा गरिएको थियो जुन किएभबाट ३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ।

उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन्। भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिन्छ।

एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको छ।

शनिवार उक्त सहरले अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको प्रतिरोध गरेको थियो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताउनुभएको छ।

हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ।

हमलाकारी रुसी फौजहरूले युक्रेनको दोस्रो ठूलो सहर खार्किबको एउटा प्राकृतिक ग्यास पाइप लाइनमा पनि विस्फोटन गराएका छन्।

रुससँगको सीमा नजिकै उक्त पाइपलाइन रहेको क्षेत्रमा च्याउको आकार जस्तो विस्फोटन भएको भिडिओ युक्रेनको सरकारी विशेष सूचना तथा सञ्चार सेवाले टेलिग्राम एपमार्फत् सन्देश पठाएर सार्वजनिक गरेको थियो।

अहिलेसम्म उक्त पाइपलाइन कतिको महत्त्वपूर्ण हो प्रस्ट भइसकेको छैन।

उक्त विस्फोटनले ग्यासको निर्यातलाई अवरुद्ध पार्छ या पार्दैन पनि खुल्न सकेको छैन।

लडाइँ जारी रहे पनि युक्रेनले युरोपलाई ग्यास निर्यात गरिरहेको छ।

आइतवारका मुख्य घटनाक्रम:

  • रुसी क्षेप्यास्त्रले भासीलकीभको एउटा तेल डिपोमा आक्रमण गरेको त्यहाँका मेयरले बताउनुभएको छ। त्यसबाट विषाक्त धुवाँ निस्कने चिन्ता व्यक्त भएको छ।
  • स्थानीय समयअनुसार मध्यरात हुनुभन्दा केही अघि क्षेप्यास्त्र आक्रमण भइरहेको चेतावनी दिँदै साइरनहरूको आवाजहरू किएभमा सुनिएका थिए।
  • युक्रेनको राजधानीका मानिसहरूले बङ्करमा रात बिताइरहेका छन् र सोमवार बिहानसम्म कर्फ्यु लगाइएको छ।
  • किएभका मेयरले सडकमा देखिने जो कोहीलाई पनि रुसी भूमिगत जत्थाको सदस्यका रूपमा व्यवहार गरिने बताउनुभएको छ ।
  • ठूलो सङ्ख्यामा मानिसहरू मल्डोभा र पोल्याण्डतर्फ भागिरहेका छन्।
  • पश्चिमा देशहरूले उनीहरूले केही रुसी ब्याङ्कहरूलाई स्वीफ्ट नेटवर्कबाट हटाउँदै अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने बताइरहेका छन्।
  • उनीहरूले रुसी केन्द्रीय ब्याङ्कहरूलाई प्रतिबन्धबाट उन्मुक्ति प्राप्त हुने मौका नदिने र धनी रुसीहरूलाई ‘गोल्डेन पार्सपोर्ट’ बाट वञ्चित गर्ने जनाएका छन्।
  • अमेरिका, जर्मनी र द नेदरल्याड्सले लडाइँलाई सहयोग पुर्‍याउन युक्रेनलाई थप हतियार उपलब्ध गराउने बताएका छन्।
Share Now

Leave a comment.