सानेपा(ललितपुर), १६ फागुन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय संसदके प्रतिनिधिसभा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)संग गरिएको अनुदान सहयोग सम्बन्धी संझौता अनुमोदन भएकोले यसको कार्यान्वयनको सुनिश्चित भएको बताउनुभएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एमसीसी संझौता अनुमोदन गर्न सहयोग गरेकोमा सत्ता गठबन्धनका दल र तिनमा आबद्ध सांसदहरुलाई धन्यवाद पनि दिनुभयो । उहाँले अब सबैको ध्यान अब यो संझौता अन्तरगतका परियोजनाहरु समयमा सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले एमसीसी संझौता गर्ने समयदेखि संसदबाट अनुमोदन गर्ने समयसम्मको समग्र प्रक्रियामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाल संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुबीच सहमति जुटाउन गर्नुभएको निरन्तर प्रयास, देखाउनुभएको धैर्यता, अपनाउनुभएको लचकता तथा सुझबुझपूर्ण र परिपक्व निर्णय अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले एमसीसी पारित गर्ने सम्बन्धमा गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरुको सहमतिमा सरकारले ल्याएको ब्याख्यात्मक घोषणाले यसका सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पु¥याएको उल्लेख गर्दै भन्नुभयो, “ब्याख्यात्मक घोषणासहित एमसीसी संझौता प्रतिनिधि सभाबाट पारित भएकोमा दातृ राष्ट्र संयुक्त राज्य अमेरिकाले समेत स्वागत गरिसकेको छ । अब एमसीसी अनुदान सहयोग अन्तरगतका परियोजनाहरु कार्यान्वयनमा जाने सुनिश्चितता भएको छ ।”
उहाँले नेपाल सरकारले संसदमा प्रस्तुत गरको एमसीसी संझौताको प्रस्तावको पक्षमा सरकारमा सम्मिलित दलहरु एक ठाँउमा उभिएको प्रसंग उठाउदै गठबन्धनका साझेदार दलहरुको नेतृत्वको सराहना पनि गर्नुभयो ।
एमसीसी संझौता पारित गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अन्य कारणले संसदीय प्रक्रियामा सहभागी हुन नसके पनि एमसीसीको पक्षमा नै रहेको उल्लेख गर्दै भन्नुभयो, “सो पार्टीका अध्यक्ष र अधिकांश नेताले यसका सन्दर्भमा प्रकट गर्नुभएका विचार र अभिव्यक्तिहरुले यो संझौता पारित गर्न र सकारात्मक जनमत सिर्जना गर्न ठूलो सहयोग गरेको छ ।”
नेपाली कांग्रेका प्रवक्ता डा.महतले एमसीसी संझौताका बारेमा तथ्यमा आधारित यथार्थ र सत्य कुराहरु सार्वजनिक गरेर आम जनतालाई सुसूचित गराउन सञ्चारमाध्यमहरुले खेलेको भूमिकाको पनि नेपाली कांग्रेसले सराहना गरेको बताउनुभयो ।
काग्रेस प्रवक्ता डा. महतले बौद्धिक र कुटनीतिक क्षेत्रले वैदेशिक मामलामा नेपालको एकै मत प्रकट होस् भन्ने चाहना व्यक्त गरिरहेको उल्लेख गर्दै नेपालको विद्युत प्रशारण लाईन निर्माण र सडक विस्तारको लागि अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)मार्फत प्राप्त हुने ५०० मिलियन डलर अनुदान सहयोग स्वीकार गर्ने र पारित गर्ने विषयमा गठबन्धन दलमाझ भएको सहमतिले त्यसको पुष्टि गरेको पनि बताउनुभयो ।
उहाँले अब सबैको ध्यान यसको कार्यान्वयनमा जान आवश्यक भएको उल्लेख गर्दै भन्नुभयो, “एमसीसीबाट प्राप्त अनुदानको सदुपयोग हुन सकोस् । यस सहयोगमार्फत निर्माण हुने आयोजनाहरु गुणस्तरीय रुपमा निर्धारित समयमा निर्माण हुन सकून । यसले नेपालको विकास प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन सघाउन सकोस् । संसदबाट पारित भएकोले यसको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी संसदमा पनि आएको छ ।”
पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री समेत रहनुभएका डा. महतले एमसीसी संझौता नेपालमा आएका विकास सहयोगको मानक बन्ने हाम्रो विश्वास नेपाली कांग्रेसले लिएको बताउनुभयो ।
उहाँले नेपालको विकास प्रयासमा सघाउदै आएका दातृ निकाय तथा मित्र राष्ट्रहरुलाई निरन्तर सहयोगको लागि धन्यवाद दिंदै भन्नुभयो, हाम्रो आर्थिक तथा सामाजिक विकासमा थप सहयोग गर्न हामी अनुरोध गर्दछौ ।
नेपाली कांग्रेस पार्टी सत्य र यथार्थको धरातलमा उभिएर सत्तामा हुँदा र नहुँदा पनि सधैं देश र जनताको हितमा एकनाससंग लागिरहने दावी गर्दै प्रवक्ता डा. महतले भन्नुभयो, “एमसीसीको सन्दर्भमा पनि हाम्रो दृष्टिकोणमा एकरुपता र निरन्तरता रह्यो । अन्ततोगत्वा नेपाली जनताको निर्वाचित संसदले यसलाई अनुमोदन गर्यो ।”
उहाँले एमसीसी सन्दर्भमा अझै बाँकी भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा नेपाली कांग्रेस निरन्तर लागिरहने पनि बताउनुभयो ।


















