Prakash Adhikari February 28, 2022

 

किएभ(युक्रेन), १६ फागुन (बीबीसी) । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन बेलारुसमा दुई देशका प्रतिनिधिहरूले युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न शान्तिवार्ता थालेका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा छलफल सुरु भएको छ।

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताउनुभयो।शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गर्नुभएको थियो।

बीबीसी न्यूज, किएभका संवाददाता अब्दुजालिल अब्दुरासुलोभका अनुसार युक्रेन र बेलारुसको सीमामा रुससँग शान्तिवार्ता गर्न युक्रेनी टोली पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती हुनेछ।

यसअघि बन्दोबस्ती तथा सुरक्षा कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले वार्ताबाट कुनै उपलब्धि हासिल होला भन्ने आशा नराखेको आइतवार बताउनुभएको थियो।

तर उहाँले वार्ताका लागि प्रयास गरिनुपर्ने र युक्रेनले युद्ध रोक्ने प्रयास नगरेको आरोप कसैले पनि लगाउनु नहुने बताउनुभएको थियो।

उहाँले ईयूले तत्काल आफ्नो देशलाई सदस्यता देओस् भन्ने माग पनि गर्नुभएको थियो।

ईयूको सदस्यता दिन जेलेन्स्कीको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ ईयूलाई तत्काल आफ्नो देशलाई सदस्यता दिन आग्रह गर्नुभएको छ।

ूहाम्रो लक्ष्य सबै युरोपेलीसँग सँगै हुनु हो। अनि अझ मत्त्वपूर्ण कुरा त समान अवसर हुने अवस्थामा हुनु हो। म ढुक्क छु यो उचित कुरा हो। म ढुक्क छु यो सम्भव छ,ू उहाँले भन्नुभयो।

एउटा भिडिओ सन्देशमा जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन पनि आग्रह गर्नुभएको छ।

“आफ्ना उपकरण परित्याग गर। यहाँबाट बाहिर जाऊ। आफ्ना नाइकेलाई विश्वास नगर। आफ्ना प्रचारकलाई विश्वास नगर”, उहाँले भन्नुभएको थियो ।

जेलेन्स्कीले देशको प्रतिरक्षा गर्न कारागारमा रहेका कैदीहरूलाई पनि मुक्त गरिने बताउनुभएको छ।

“हामीले नैतिक रूपमा अलि कठिन एउटा निर्णय गरेका छौँ। तर आफ्नो प्रतिरक्षा गर्ने दृष्टिकोणबाट यो उपयोगी छ”,उहाँले भन्नुभयो।

रुसी विमान लामो आकाशमार्ग प्रयोग गर्न बाध्य

युरोपेली सङ्घ ईयूसँग आबद्ध राष्ट्रहरूले प्रतिबन्ध लगाइदिएकाले रुसी विमानहरू कालिनिन्ग्राडबाट आवतजावत गर्दाबाल्टिक सागरमाथिको लामो आकाशमार्ग प्रयोग गर्न बाध्य भएका छन्।

झन्डै १५,००० वर्ग किलोमिटर क्षेत्रफल भएको कालिनिन्ग्राड रुसको स्वामित्वमा छ। रुसको मुख्यभूमिभन्दा ३०० किलोमिटर पश्चिममा अवस्थित उक्त स्थान बाल्टिक सागर र ईयूका सदस्य लिथूएनिआ तथा पोल्यान्डको बीचमा छ। लाट्भिया र लिथूएनियाको आकाशबाट सोझै उड्न नपाएपछि रुसी विमानहरू उत्तरवर्ती सेन्ट पिटर्सबर्गतिर गई बाल्टिक सागरको तटतिर उड्न बाध्य छन्। क्यानडाले पनि ब्रिटेन र ईयूले जस्तै रुसी विमानलाई आफ्नो आकाशमा रोक्न प्रतिबन्ध लगाएको छ।

प्रत्युत्तरमा रुसको राष्ट्रिय ध्वजावाहकले युरोपका सबै स्थानमा आफ्नो उडान रद्द गरेको छ।

झन्डै ५,३०० रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको सङ्घर्षमा सुरुका चार दिनमा ५,००० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५,३०० सैनिकको ज्यान गएको तथा १९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८१६ वटा वाहन नष्ट पारिएको दाबी गरिएको छ।

बीबीसीले यी दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

यद्यपि यूकेको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारोक्ति गरेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो। तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन।

संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षकहरूले युक्रेनमा भएका सङ्घर्षहरूमा कम्तीमा ९४ जना गैरसैनिक नागरिकको मृत्यु भएको जनाएका छन्।

राष्ट्रसङ्घका अनुसार रुसी आक्रमणले युक्रेनमा गम्भीर मानवीय समस्या सिर्जना गरेको छ। उसले युद्धमा मर्ने मानिसको सङ्ख्या निकै धेरै भएको हुनसक्ने जनाएको छ।

चार लाख मानिसले युक्रेन छोडे

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले ४ लाख २२ हजार मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको जनाएको छ।

यूएनएचसीआरका अनुसार रेल चढेर देश छोड्न खोज्ने मानिसहरूलाई अवरोध गरिएको विवरण उसले प्राप्त गरेको छ र त्यसबारे अनुसन्धान भइरहेको छ।

“यूएनएचसीआरले देश छोडेर भाग्ने मानिसलाई शरणार्थी मान्छ”, उक्त निकायकी एक प्रवक्ताले भन्नुभयो।

अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको यूएनएचसीआरले जनाएको छ।

आणविक ऊर्जा केन्द्र कब्जामा लिइएको रुसी दाबी युक्रेनद्वारा खण्डन

जापरोज्यास्थित आणविक ऊर्जा केन्द्र कब्जामा लिएको रुसको दाबीलाई युक्रेनी अधिकारीहरूले खण्डन गरेका छन्।

उक्त आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो हो।

युक्रेनको सरकारी आणविक कम्पनी एनर्जोएटमले ऊर्जा केन्द्रबारे रुसले नितान्त मिथ्या दाबी गरेको जनाएको छ।

सोमवार बिहान रुसले आफूले उक्त ऊर्जा केन्द्रलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो।

रुसी रक्षा मन्त्रालयका मेजर जेनरल इगोर कोनाशेन्कोभले एउटा विज्ञप्तिमा रुसी सैनिकहरूले उक्त ऊर्जा केन्द्र र वरपर पहरा दिइरहेको बताउनुभएको थियो।

रुसी सैनिकहरूले ती स्थानको मर्मत गर्न र रेडिओधर्मी विकिरणको स्थिति नियन्त्रणमा राख्न काम गरिरहेको र स्थिति सामान्य रहेको उहाँको दाबी थियो।

किएभमा हट्यो कर्फ्यू

किएभकिएभकिएभ

युक्रेनको राजधानी किएभमा सप्ताहान्तदेखि लागु गरिएको कर्फ्यू हटाइएको थियो।

भूमिगत स्थानमा आश्रय लिँदै आएका मानिसहरूलाई स्थानीय समयानुसार बिहान ८ बजेबाट त्यहाँबाट जान दिएको छ।

अब खाद्यान्न पसलहरू खोल्न पाइनेछ भने सार्वजनिक यातायातका साधनहरू पनि पुनः चल्नेछन्।

यद्यपि सबवे रेल सेवा पहिलाको तुलनामा निकै कम चल्नेछ।

अधिकारीहरूका अनुसार राति १० बजेबाट सुरु भई भोलि बिहान ७ बजेसम्म फेरि कर्फ्यू लागु हुनेछ।

रुसमाथि पश्चिमा प्रतिबन्धको व्यापक असर

पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ।

अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ।

युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको छ।

रुसमा एटीएमबाहिर मानिसहरूको ठूल्ठूला लाइन देखिएका छन्। नगद झिक्न सरकारले सीमा तोक्न सक्ने मानिसहरूमा डर छ।

युरोपमा रुसी स्वामित्वका ब्याङ्कहरूले काम गर्न बन्द गरिसकेका छन्।

रुसको केन्द्रीय ब्याङ्कमाथि लगाइएको प्रतिबन्धका कारण करिब ६३० अर्ब डलर विदेशी मुद्रा सञ्चितिलाई उसले प्रयोग गर्न पाउँदैन।

 

Share Now

Leave a comment.