Prakash Adhikari February 28, 2022

 

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवालेछिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिने बताउनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अमेरिकी सहयोग नियोग मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सम्झौता अनुमोदन गर्न सहज वातावरण निर्माण गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै छिमेकी देशलाई भूभाग प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएको हो ।

मन्त्रिपरिषद्‍ बैठकले राजनीतिक दलहरु, सभामुख र सांसदहरुलाई धन्यवाद व्यक्त गरेको छ।

‘एमसीसीलाई मिति २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायत अन्य राजनीतिक दलहरु, प्रतिनिधिसभा सम्मानीय सभामुख र माननीय सदस्यहरु सबैलाई नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ,’ मन्त्रिपरिषद्‍को निर्णयमा भनिएको छ ।

आइतबार भएको प्रतिनिधिसभा बैठकले ५० करोड अमेरिकी डलर सहयोग सञ्चालन गर्ने परियोजना एमसीसी सम्झौतालाई अनुमोदन गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको छ ।’

 

Share Now

Leave a comment.