बीरेन्द्रनगर(सुर्खेत), १६ फागुन । अमेरिकी विकास सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संग सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणमा लिने अनुदान संझौता संसदबाट पारित गरेको विरोधमा आठ बामपन्थी दलहरुले आव्हान गरेको बन्द अराजक बन्दै गए पछि थप क्षति रोक्न वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना निकालेर सोमबार बेलुका ८ः१५ देखि मंगलबार साँझ ७ बजेसम्मलाई कफर्यु आदेश जारी गरेको जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो ।
विप्लपसहित छ दल र दुई मोर्चाले आव्हान गरेको बन्द वीरेन्द्रनगरमा साँझतिर अराजक बन्दै गए पछि कर्फ्यू लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वीरेन्द्रनगर तनावग्रस्त बन्दै गए पछि कर्फ्यू जारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरतर्फ वीरेन्द्रनगर नगरपालिका वडा न ७ र दक्षिणतर्फ लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार, देउती बज्यै एंव सुब्बाकुना क्षेत्रसम्म कर्फ्यू जारी गरिएको हो । कर्फ्यू आदेश भएका क्षेत्र भित्र आवतजावत र भेला जम्मा हुन रोक लगाइएको छ ।
बन्दकर्ताहरुले सार्वजनिक स्थल, प्रहरी बिट, वीरेन्द्रनगरमा रहेका पार्टी कार्यालयहरुमा आगजनी तथा तोडफोड समेत गरेका छन् ।
बन्दकर्ताहरुले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् । प्रहरी र बन्दकर्ताबिच झडप समेत भएको थियो । प्रहरीले केही बन्दकर्ताहरुलाई पक्राउ समेत गरेको छ ।


















