Prakash Adhikari March 3, 2022

काठमाडौं, १९ फागुन । रुसले छिमेकी युक्रेनमाथि गरेको सैनिक आक्रमणले विश्व बजारमा खनिज तेलको मूल्य बृद्धि भएको छ र नेपालले पनि त्यसको असर भोग्नु परेको छ ।

नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल आयल निगमले माच १ अर्थात मंगलबारदेखि लागू हुने गरी इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर मूल्य सूची पठाएको छ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको जनाएको छ।

मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको अनुमान गरेको छ।

रसिया र युक्रेनबिचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भइ उच्चतम विन्दुमा पुगेको निगमले जनाएको छ। कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५ प्रति ब्यारेल पुगेका कारण भारतबाट इन्धनको मूल्य बढेको निगमले उल्लेख गरेको छ।

फोटो विवरण उपलब्ध छैन।

तर बीबीसीले बुधबार जनाए अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका लागि बेन्चमार्क मानिने ब्रेन्ट क्रूड प्रतिब्यारल ११३ अमेरिकी डलर पुगेको छ। एक ब्यारलमा करिब १५९ लिटर हुने गर्छ।

यो सन् २०१४ को जुन महिनापछिको सर्वाधिक मूल्य हो।

इन्टरन्याश्नल एनर्जी एजेन्सीका सदस्यराष्ट्रहरूले आपत्कालीन भण्डारबाट ६ करोड ब्यारल तेल बाहिर ल्याउने सहमति गरेपछि पनि तेलको मृल्य बढेको हो।

रुस एउटा ठूलो इन्धन उत्पादक राष्ट्र हो। युद्धका कारण लगानीकर्ताहरू तेल र ग्यासको आपूर्ति प्रभावित हुने चिन्तामा छन्।

यता निगमले चालु आर्थिक वर्षमा २८ अर्ब नोक्सानी ब्यहोरी सकेको समेत जनाएको छ। अन्तर्राष्ट्रिय बजार र भारतमा बढेको भाऊ अनुसार मूल्य बृद्धि गर्न नसक्दा मूल्य समायोजन कोषमा राखेको रकम र विभिन्न वित्तीय संस्थासंग ऋण लिएर इण्डियन आयल निगमलाई भुक्तानी गरेको जनाएको थियो ।

Share Now

Leave a comment.