किएभ(युक्रेन) १९ फागुन(बीबीसी) । रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारी भइरहेका छन्।
ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान रुसको कब्जामा जाने पहिलो मुख्य सहर भएको छ। अर्को बन्दरगाह सहर मारिउपोलमा रुसी घेराबन्दीले मानवीय सङ्कट उब्जिएको मेयरले बताएका छन्।
किएभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ। राजधानीमा ठूल्ठूला विस्फोटन भएका छन्।
युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता हुँदैछ।
मारिउपोलको घेराबन्दीलाई नाजीकालीन घटनासँग तुलना
युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलका मेयरले रुसी सेनाको घेराबन्दीका कारण त्यहाँ दोस्रो विश्वयुद्धका बेला नाजीले सेन्ट पिटर्सबर्ग सहरमा आक्रमण गर्दाताकाको जस्तै अवस्था उत्पन्न भएको बताउनुभएको छ।
“उनीहरूले यहाँपनि घेराबन्दी गर्दैछन् जस्तो लेनिनग्राद (सेन्ट पिटर्सबर्गको तत्कालीन नाम)मा भएको थियो,” भादिम बोइचेन्कोले भन्नुभयो।
रुसी सेनाले सहरको बिजुली, खानेपानी, खानेकुरा, न्यानो पार्ने प्रणाली सबैको आपूर्ति अवरुद्ध पारिदिएको उहाँले बताउनुभयो।
गैरसैनिकहरूको उद्धार विथोल्न रुसी फौजले रेलसम्पर्क समेत ध्वस्त पारिदिएको उहाँले बताउनुभयो।
यो सप्ताहान्तमा त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ।
रुस-युक्रेन दोस्रो चरणको शान्तिवार्ता हुँदै
सोमवार बेलारुसको गोमेल क्षेत्रमा पहिलो चरणको शान्तिवार्ता भएको थियो ।
युक्रेनी तथा रुसी प्रतिनिधिमण्डलबीच बेलारुसमा बिहीवार नै दोस्रो चरणको शान्तिवार्ता हुँदैछ।
एकजना युक्रेनी वार्ताकार डाभिड अराखमियाले सामाजिक सञ्जालमा युक्रेनको न्यूनतम उद्देश्य गैरसैनिकहरूलाई द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउनु हुने बताउनुभएको छ।
युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
रुसले भने युक्रेनसामु ‘असैनिकीकरण’ गर्न तथा क्राइमियालाई रुसी क्षेत्र मान्न माग गरिरहेको छ।
साथै पूर्वी युक्रेनका डोनेत्स्क तथा लुहान्स्कलाई पनि पृथक भएको मान्यता दिन मस्कोले भनिरहेको छ।
बुधवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युद्धविरामका लागि हुने कूटनीतिक प्रयासप्रति अमेरिकाको समर्थन रहने बताउनुभएको थियो।
युद्धको एक सातापश्चात् के छ पछिल्लो अवस्था
रुसले युक्रेन अतिक्रमण गरेको एक साता बितेको छ।
यतिखेर युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण निकै तेज पारिएको छ।
तर हालसम्म एउटामात्रै मुख्य सहर रुसी कब्जामा पुगेको छ।
बिहीवार भएका मुख्य घटना यसप्रकार छन्:
- रुसी सेनाले रणनीतिक महत्त्वको बन्दरगाह सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको छ। रुसले कब्जा गरेको यो पहिलो महत्त्वपूर्ण सहर हो।
- अघिल्लो बिहीवार यता १० लाखभन्दा धेरै मानिसले युक्रेन छाडेका छन्। तीमध्ये आधा जति छिमेकी पोल्यान्डमा गएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
- द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा भएका सम्भावित युद्ध अपराध तथा मानवताविरुद्ध अपराधको अनुसन्धान थालेको छ।
- कैयन् सहरहरूमा व्यापक बमबारी भइरहेको छ। मारिउपोल सहरमा घाइतेलाई मद्दत गर्न समेत गाह्रो परिरहेको मेयरले बताउनुभएको छ।
- रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले तेस्रो विश्वयुद्ध भएमा परमाणुयुद्ध हुने चेतावनी दिनभएको छ। तर रुसले त्यसबारे सोचबिचार नगरेको उनले बताए।
- राजधानी किएभमा ठूल्ठूला विस्फोटन भएका छन्। हालसम्म सहर युक्रेनी सरकारकै नियन्त्रणमा छ।
रुसले क्षतिको आर्थिक मूल्य चुकाउनुपर्नेछः जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा रुसले गराएको क्षतिका लागि उसलाई आर्थिक मूल्य चुकाउन लगाइने बताउनुभएको छ ।
एउटा भिडिओमा बोल्दै युक्रेनी राष्ट्रपतिले क्षतिपूर्तिको मुद्दा उठाएर युक्रेनमा क्षति पुगेका सबै घर र बाटाहरूलाई पुरानै रूपमा बनाइने बताउनुभयो।
यसैबीच रुसको आक्रमण भने आठौँ दिन पनि जारी छ।
राजधानी किएभको उत्तरतर्फ रहेका रुसी बख्तरबन्द गाडीका लस्कर यथावत रहेका छन्।
दक्षिणमा रहेको रणनीतिक मारिउपोल बन्दरगाहमा बमबारी हुने क्रम जारी छ।
अधिकारीहरूले रुसमाथि सहर घेरेर गैरसैनिक संरचनालाई निसाना बनाएको आरोप लगाएका छन्।
दुवै पक्षले उपलब्ध गराएका मारिएका वा घाइते भएका रुसी फौजको सङख्या एकदमै भिन्न छ।
तर ती कुनै पनि सङ्ख्याको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
सांसदले पनि बोके बन्दुक
“कलम र कीबोर्ड छोडेर मानिसहरूले बन्दुक बोकेका छन्” ।
रुसले युक्रेनमा आक्रमण गरेपछि हजारौँ युक्रेनी नागरिकरहरू स्वैच्छिक रूपमा युद्धमा सहभागी भएका छन्, तीमध्ये कतिपयसँग सैन्य सेवाको अनुभव पनि छैन।
क्षतिबारे युक्रेन र रुसका दाबी
युक्रेनको सेनाले नियमित रूपमा उसले रुसी फौजमाथि पुर्याएको क्षतिबारे जानकारी दिने गर्छ।
रुसी सेनाले लगातार महत्त्वपूर्ण सहरहरूमा सङ्घर्ष सघन पारिरहेको छ।
यतिखेर क्षतिबारे गरिएका दाबी बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सक्दैन।
तर युक्रेनी सेनाले दिएको पछिल्लो जानकारीमा झन्डै ९,००० रुसी सैनिक हताहत भएका छन्।
साथै युक्रेनी सेनाले गरेको दाबीअनुसार रूसलाई उसले पुर्याएको क्षति पुर्याएको यस प्रकार छ:
- २१७ ट्याङ्क ध्वस्त पारिएको
- ९० आर्टिलरी प्रणाली नष्ट पारिएको
- ३१ हेलिकप्टर ध्वस्त पारिएको
- ३० विमान ध्वस्त पारिएको
- रुसले बुधवार पहिलो पटक उसको सेनामा पुगेको क्षतिबारे जानकारी दिएको थियो।
- उसका अनुसार ४९८ रुसी सेना मारिएको अनि १,६०० घाइते भएका छन्।
- उसले २,८७० युक्रेनी सेैनिक तथा ‘राष्ट्रवादी’हरू मारिएको बताएको छ।
- द्वन्द्वमा परेर सयौँ गैरसैनिकको पनि ज्यान गएको छ।
टीभीको क्यामरामा किएभको विस्फोटन
रुसी आक्रमण खेपिरहेको किएभमा गत राति ठूलाठूला विस्फोटनहरू भए।
सीबीएस न्यूजको टोलीले त्यस्तै विस्फोटन आफ्नो क्यामरामा कैद गरेको छ।
विस्फोटनका कारण बीबीसको अमेरिकी साझेदार समाचारसंस्था सीबीएसका संवाददाता चार्ली डिुअगाटा केही हडबडाएको देखिन्छ।
उहाँले विस्फोटनलाई चट्याङसँग तुलना गर्नुभएको छ।
उहाँ अहिले किएभमा हुनुहुन्छ।
आफ्ना नागरिकलाई फ्रान्सको आग्रह
द्वन्द्व बढिरहेको हुनाले ूअत्यावश्यकू अवस्थामा बाहेक आफ्ना नागरिकलाई रुस छोड्न फ्रान्स सरकारले आग्रह गरेको छ।
अरू देशले पनि त्यस्तै सुझाव दिँदै यात्रासम्बन्धी सूचना जारी गरेका छन्।
यूकेको फरेन अफिसले पछि देश छोड्न कठिन हुने र रुसी अर्थतन्त्र तरल रहेको कारण देखाउँदै आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ।
अमेरिका सरकारले पनि त्यस्तै सुझाव दिएको छ। विभिन्न कारणमध्ये उसले रुसी सुरक्षाकर्मीले अमेरिकी नागरिकसँग दुर्व्यवहार गर्न सक्ने पनि उल्लेख गरेको छ।
रुसी अर्बपतिको ६० करोड डलर पर्ने विलासी नौका जर्मनीको नियन्त्रणमा
जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी नौका नियन्त्रणमा लिएको विवरणमा जनाइएको छ।
फोर्ब्स म्यागजीनका अनुसार ह्याम्बर्गबाट १५६ मिटर लामो उक्त नौका नियन्त्रणमा लिइएको हो।
धातु व्यापारी उस्मानोभ रुसका चर्चित २५ व्यक्तिमध्ये एक हुन् जो रुसी सरकारसँगको सम्बन्धलाई लिएर युरोपेली सङ्घको प्रतिबन्धमा परेका छन्।
रुसी स्वामित्वका अरू नौकाहरू माल्दिभ्सका रोकिएका छन्।
रुस र बेलारुसलाई २०२२ पारालिम्पिक्समा प्रतिबन्ध
बेइजिङमा हुने शीतकालीन पारालिम्पिक्स २०२२ का प्रतिस्पर्धामा रुसी र बेलारुसी खेलाडीको सहभागितामा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय पारालिम्पिक समितिले जनाएको छ।
बेइजिङ पारालिम्पिकको उद्घाटन शुक्रवार हुँदैछ भने प्रतिस्पर्धाहरू शनिवारबाट हुनेछन्।
टाइम म्यागजीनको कभरमा जेलिन्स्कीको भनाइ
धेरै युक्रेनीहरूले टाइम म्यागजीनको कभरमा सामाजिक सञ्जालमा शेअर गरिरहेका छन्।
उक्त म्यागजीनले युक्रेन र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीप्रति सम्मान व्यक्त गर्न पृष्ठभूमिमा युक्रेनको झण्डा राखेर उनको उक्ति युक्रेनी भाषामा छापेको छ।
मङ्गलवार ईयूको संसद्मा सम्बोधन गर्दै ले भन्नुभएको थियोः जीवनले मृत्युमाथि विजय पाउनेछ, अनि प्रकाशले अन्धकारमाथि विजय पाउनेछ।
अमेरिकाबाट प्रकाशित हुने उक्त म्यागजीनले आफ्नो मुख्य सामग्रीमा रुसी अतिक्रमण सुरु भएपछि किएभमै बसेर जेलेन्स्कीले ‘इतिहास फेरिदिएको’ लेखेको छ।
पुटिनको गृहनगरमा व्यापक गिरफ्तारीबीच युद्धविरोधी प्रदर्शन
रुसले हस्तक्षेप गरेयता राजधानी मस्कोमा दिनहुँ पुटिन र युद्ध विरोधी प्रदर्शन हुँदै आएका छन् ।
त्यसमध्ये “हतियार बिसाइदेऊ सेना, तिमी वास्तविक नायक हुनेछौ” भन्ने सन्देश लेखिएको प्लेकार्ड बोकेकी वृद्धाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा ठूलो धरपकडबीच युक्रेनमाथि अतिक्रमणको विरोधमा फेरि सुरु भएको छ।
अघिल्ला दिनहरूमा जस्तै प्रदर्शनकारीहरूले ठूलो सङ्ख्यामा प्रहरी उपस्थितिको सामना गरेका छन्।
दङ्गाविरोधी अधिकारीहरूले हिंसात्मक ढङ्गले प्रदर्शनकारीलाई तितरबितर पारेका छन् भने कैयौँलाई पक्राउ गरेका छन्।
पछिल्ला केही दिनयता सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।
जेलमा रहेका पुटिनका आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध दैनिक प्रदर्शन गर्न आह्वान गरेपछि प्रदर्शनहरू सुरु भएका हुन्।
रुसी सेनाका गाडीको विशाल लस्कर कहाँ पुग्यो
सयौँ रुसी बख्तरबन्द गाडीहरू अहिले अगाडि बढ्न नसकेको अवस्थामा रहेको अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले बताउनुभएको छ।
“हाम्रो उत्कृष्ट आकलनअनुसार गत २४ देखि ३६ घण्टामा तिनीहरूले कुनै उल्लेख्य गति लिन सकेका छैनन्,” किर्बीले बुधवार पेन्टागनको प्रेस ब्रिफीङमा भन्नुभयो।
उहाँका अनुसार रुसी सैनिकहरू “पुनः समूह बनाउन थालेकाले अथवा प्रगतिको समीक्षा गर्न र खेर गएको समयको क्षतिपूर्ति कसरी गर्ने भन्नेमा लागेकाले” उनीहरूलाई ढिलो भएको हुनसक्छ।
बन्दोबस्तीसम्बन्धी र निरन्तरता दिन नसक्ने चुनौती तथा युक्रेनी सेनाको प्रतिरोधका कारण पनि रुसी लस्कर अगाडि बढ्न ढिलो भएको हुनसक्ने किर्बीले बताउनुभएको छ।
अपुष्ट रिपोर्टहरूले सङ्केत गरेअनुसार रुसी सेनाले इन्धन र खानेकुराको अभाव झेलिरहेका छन्।


















