किएभ(युक्रेनं), २० फागुन (बीबीसी) । युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले “तत्काल कदम चाल्न” विश्वलाई आग्रह गरिरहनुभएको छ।
“युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भन्नुभएको छ।
उहाँले अगाडि भन्नुभएको छ,“युरोपेलीहरू जाग्नुहोस्। आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन्।”
जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताउनुभएको छ।
परमाणु केन्द्रमा आगलागी
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा ‘‘सबै दिशाबाट हमला गरिरहेको’’ बताउनुभएको छ।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी भएको छ।
“रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ !” कुलेबाले ट्विटरमा लेख्नुभएको छ।
मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न आग्रह गर्नुभएको छ।
सो क्षेत्रमा आगोका लप्का र धुवाँ उडिरहेको भिडिओ पोस्टमा देखिन्छ।
मेयर ओर्लोभले त्यहाँको अवस्था विश्वकै सुरक्षाका लागि खतरा भएको बताएका छन्।
यसअघि बिहीवार राष्ट्रसङ्घीय निकायले परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण रोक्न आग्रह गरेको थियो।
परमाणु ऊर्जा केन्द्रको सुरक्षा ‘सुनिश्चित’
युक्रेनको जापोरिज्या क्षेत्रीय प्रशासनका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सुरक्षा “सुनिश्चित” गरिएको बताउनुभएको छ।
आफूले ऊर्जा केन्द्रका निर्देशकसँग कुरा गरेको भन्दै एलेक्सान्डर स्त्रारुखले सुरक्षा सुनिश्चित गरिएको कुरामा आफूलाई आश्वस्त पारिएको फेसबुकमा लेख्नुभएको छ।
“जेडएनपीपीका निर्देशकले परमाणु सुरक्षा सुनिश्चित गरिएको कुरामा मलाई आश्वस्त पारेका छन्,” उहाँले भन्नुभयो।
यसअघि युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा“सबै दिशाबाट हमला गरिरहेको”बताउनुभएको थियो।
स्थानीय अधिकारीहरूकाअनुसार रुसी आक्रमणका कारण परमाणु ऊर्जा केन्द्रमाआगलागी भएको छ।
बेलारुसी सेनालाई युक्रेन छिर्न आदेश
बेलारुसले आफ्ना सेनालाई युक्रेनभित्र छिरेर लडाइँ गर्न बिहीवार आदेश दिएको युक्रेनी सेनाले जनाएको छ।
“बेलारुसको सैन्य युनिट कमान्डलाई सीमा कटेर युक्रेनभित्र छिर्न आदेश दिइएको छ,” युक्रेनी सेनाले एउटा फेसबुक पोस्टमा भनेको छ।
युक्रेनी सेनाका अनुसार रुसी फौजले क्षेप्यास्त्र हमलाका लागि बेलारुसी भूमिलाई प्रयोग गर्दै आएका छन्।
यसअघि बेलारुसी राष्ट्रपतिले युक्रेनसँग जोडिएको सीमामा सैन्य उपस्थिति दोबर पारिने बताउनुभएको थियो।
युक्रेनसँग सीमा जोडिएको बेलारुसको सत्तामाथि रुसको गहिरो प्रभाव रहेको बताइन्छ।


















