काठमाडौं, २१ फागुन २० । विश्वकप क्रिकेट लिग–२ को तयारी का लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गर्दैछ ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाको खेल्दै छ ।
त्यसको तयारीको लागि श्रीलंकाका फस्ट क्लास क्रिकेट टोलीसंग अभ्यास खेल खेल्नका लागि नेपाली टोली कोलम्बो प्रस्थान गर्न लागेको हो ।
नेपाल क्रिकेट संघले श्रीलंका प्रस्थान गर्ने खेलाडी तथा पदाधिकारीहरुका लागि शुक्रबार बिदाइ कार्यक्रम राखेको थियो ।
बिदाई कार्यक्रमलाई संबोधन गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नेपालको एकदिवसीय मान्यता जोगाउन धेरै चुनौती सामना गर्नुपर्ने बताउनुभयो।
“एकदिवसीय मान्यता जोगाउनका लागि धेरै किसिमका चुनौती सामना गर्नुपर्नेछ । हामी लिग–२ को तेस्रो स्थानसम्म पुग्नुपर्छ । कडा मिहिनत गरे मात्र अगाडिका यात्रा तय गर्न सक्छौं । त्यसका लागि हरेक खेलमा नेपालले उतिकै मिहिनत गर्न आवश्यक छ ।” राष्ट्रिय टिमका मुख्य प्रशिक्षक दासानायकेले भन्नुभयो “हामीसँग क्षमतावान् युवा क्रिकेटर छन् । तर उनीहरूलाई मार्गदर्शन र आत्मविश्वासको खाचो छ । यी क्रिकेटरले नेपाली क्रिकेटलाई माथि पु¥याउनेमा विश्वस्त छु ।”
उहाँले नेपालले पछिल्ला समय निरन्तर ट्वान्टी फरम्याटको क्रिकेट खेलिरहेकाले एकदिवसीयमा अभ्यस्त हुनका लागि श्रीलंका भ्रमण गरिएको स्पष्ट पार्नुभयो ।
“पछिल्ला दुई महिनादेखि हामी ट्वान्टी–२० क्रिकेट खेलिरहेको थियौं । विश्वकपमा पुग्नका लागि हामी पावर हिटिङतर्पm केन्द्रित थियौं । तर, अब एकदिवसीयमा युएईजस्तो एसोसिएटकै उत्कृष्ट टोलीविरुद्ध खेल्दैछौं, त्यसको लागि धैर्यता चाहिन्छ । तत्कालै एकदिवसीय क्रिकेट खेल्न समय लाग्छ । त्यसैले श्रीलंकामा तयारी गर्न लागिएको हो” उहाँले भन्नुभयो।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानले पनि ट्वान्टी–२० क्रिकेटबाट एकदिवसीय क्रिकेट खेल्न केही चुनौती भएको र नेपाली टोलीले त्यो चुनौतीलाई पार गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।
क्याप्टेन लामिछानेले सोमपाल कामी, करण केसी, विक्रम सोब, रोहित पौडेल टिममा रहेकोले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“हामीले तयारी राम्रो गरेका छौं । विश्व लिग–२ को अगाडि हामी श्रीलंका पनि अभ्यास खेल्दै छौं । त्यसले पनि हामीलाई थप मद्दत पुग्नेछ । बलिङमा सोमपाल,करण र विक्रमको पुर्नरागमनले हामी थप बलियो भएका छौं । ब्याटिङमा पनि रोहितको साथ पाउनेछौं” क्याप्टेन सन्दीपले भन्नुभयो, “मिडल अर्डरमा ब्याटिङको समस्या पनि समाधान हुनेमा विश्वस्त छु । श्रीलंकामा हुने अभ्यास खेलले पनि धेरै मद्दत पुग्नेछ ।”
नेपालले श्रीलंका नेभीसँग मार्च ७ र ८ मा खेल्नेछ । मार्च ९ मा भने नेपालले श्रीलंका पुलिसविरुद्ध चुनौती प्रस्तुत गर्दैछ । यी दुई टोलीबाट फस्ट क्लास क्रिकेटर सम्मिलित टोलीसँग नेपालले मार्च १० अन्तिम अभ्यास खेल खेल्नेछ ।
श्रीलंकामा एक हप्ताको अभ्यासपछि नेपाली टोली मार्च १३ मा युएई पुग्नेछ ।
त्यसपछि लिग–२ खेल्न नेपाल युएई प्रस्थान गर्नेछ । नेपालले मार्च १६ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ ।
यीमध्ये युएई निकै बलियो रहेको छ । टी २० विश्वकप छनोट हुने मौका युएईसंग पराजित भएर नेपालले गुमाएको थियो।
नेपालले यस पटक आफ्नो क्षमताको पूर्ण प्रदर्शन गर्ने गरी खेलाडीलाई मैदानमा उतार्ने बताएको छ ।
विश्वकप लिग २ को हालसम्मको ८ खेलमा नेपालले ४ मा जित र ४ मा हारसहित ८ अंक बटुल्दै छैटौं स्थानमा छ ।
सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले २०२३ मा वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
बाँकी चार टोलीले प्लेअफ खेल्नु पर्नेछ ।
श्रीलंका जाने खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंगो नेपालीको भावना प्रतिनिधित्व गर्दै श्रीलंका र युएईमा खेल्न शुभकामना दिनुभयो ।
उहाँले खेलमा नै जीवन ब्यतित गरेका खेलाडीलाई जीवनयापन गर्न कठिनाई नहुने गरी खेल नियमावलीमा आर्थिक सहयोगका प्रावधान राखिने आश्वासन दिनुभएको थियो ।
श्रीलंका जाने १६ खेलाडीलाई ठमेलको एक होटलमा आयोजित कार्यक्रममा मन्त्री गहतराज, क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले बिदाई गर्नुभएको थियो ।


















