Prakash Adhikari March 10, 2022

 

नयाँदिल्ली(भारत), २६ फागुन । भारतीय प्रान्त पञ्जाबको विधान सभा चुनावमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बढी सिट जितेको छ।

बिहीबार पाँच वटा भारतीय राज्यमा विधान सभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पञ्जाबमा अरबिन्द केजरीवाल नेतृत्वको आपले दुई तिहाइ बढी बहुमत ल्याएको हो।

टाइम्स अफ इन्डियाका अनुसार १ सय १७ सिटमध्ये आपले ९२ सिट जितेको हो। पञ्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। आपले झन्डै ७९ प्रतिशत सिट जितेको हो।

पञ्जाबमा हाल कंग्रेस आईको सरकार छ। कंग्रेसले जम्मा १८ सिटमात्रै जितेको छ। सिरोमनी अकेली दल (एसएडी)ले तीन सिट, भारतीय जनता पार्टी(भाजपा)ले दुई सिट र अरूले दुई सिट जितेका छन्।

जीतपछि पार्टी आमआदमी पार्टीका अध्यक्ष केजरीवालले पञ्जाबका जनतालाई धन्यवाद दिनुभएको छ।

‘पञ्जाबका जनताले गज्जब गरे। हामी सबै तपाईंहरूलाई माया गर्छौं, पञ्जाब,’ उहाँले भन्नुभयो।

केजरीवालले अब आपको क्रान्ति देशभर फैलिने बताउनुभयो।

कंग्रेसका ‍पूर्व(मुख्यमन्त्री अमरिन्दर सिंह, कंग्रेस पन्जाब राज्यका अध्यक्ष नवजोतसिंह सिद्धू र मुख्यमन्त्री समेत रहेका चरन्जित चन्नी निर्वाचनमा पराजित हुनुभएको छ।

सन् २०१७ मा भएको विधान सभा चुनावमा कंग्रेसले ७७ सिट जितेको थियो।

पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी छोड्नुभएको थियो। विभाजित भएको कंग्रेसले अहिले १८ सिटमात्रै जितेको हो।

कंग्रेसका नेता राहुल गान्धीले जनताले गरेको निर्णयलाई नम्रताका साथ स्वीकार्ने बताउनुभएको छ।

उहाँले बिहीबार ट्विट गर्दै विधान सभा चुनावमा जितेका नेताहरूलाई बधाई समेत दिनुभएको छ।

वैकल्पिक राजनीति थालेको १० वर्षमा आपले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको हो। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब पञ्जाबमा पनि सरकार बनाउने छ।

दिल्लीमा पनि आपले विधान सभा चुनावमा झन्डै ९० प्रतिशत सिट जितेको थियो। सन् २०२० मा भएको विधान सभा चुनावमा आपले ७० मध्ये ६२ सिट जितेको थियो।

पञ्जाबमा अब आपका नेता भागवन्त मान मुख्यमन्त्री बन्नुहुनेछ।
आपले मुख्यमन्त्रीका उम्मेदवार बनाएका भागवन्त ४८ वर्षका हुनुहुन्छ। राजनीतिमा आउनुभन्दा पहिला उहाँ कमेडियन हुनुहुन्थ्यो।

सन् २०१२ मा उहाँ राजनीतिमा आउनुभयो। सुरूमा उहाँ पन्जाब पिपल पार्टीमा आवद्ध हुनुभयो। उक्त पार्टीबाट विधान सभा चुनाव जित्न नसकेपछि भागवन्त सन् २०१४ मा आपमा आबद्ध हुनुभयो ।

भागवन्त सन् २०१४ देखि लोकसभा सदस्य हुनुहुन्छ। सन् २०१९ को चुनावमा पञ्जाबबाट लोकसभा चुनाव जित्ने उहाँ एकमात्र आप उम्मेदवार हुनुहुन्छ।

Share Now

Leave a comment.