काठमाडौं, २६ फागुन । नेपाल जग्गा तथा आवास विकास संघको १५ औं साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले संघका सदस्यहरूले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ प्लानिङको प्रकृया सहज बनाउनुपर्ने बताउनुभयो।
त्यस्तै, उहाँले संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्ने कुरामा जोड दिनुभयो।
यी कार्यहरूका लागि सम्बन्धित सरकारी निकायहरूसँग निरन्तर रुपमा संवाद तथा अन्तरक्रिया गर्नुपर्ने समेत उहाँले बताउनुभयो।
यसबाहेक अध्यक्ष वाग्लेले सदस्यहरू बीच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवं मैत्रीभाव कायम राखी रियल इस्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
साधारण सभाको अवसरमा संघका उपाध्यक्ष त्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवन्धन सम्बन्धमा आ-आफ्नो धारणा व्यक्त गर्नुभयो।
साधारण सभामा संघको कार्य समितिका पूर्व पदाधिकारी तथा सदस्यहरू, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरू लगायतका व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो।
सभाले महासचिव पुरुषोत्तम पौडेलले पेश गरेकोे वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्दै संघ समेतको पहलमा नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।
सभाको समापन गर्दै अध्यक्ष वाग्लेले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रूपमा स्थापित गर्न आफू पूर्ण रुपले दत्तचित्त भई सबै व्यवसायीहरूको हक हितको लागि निरन्तर रूपमा प्रयासरत रहने प्रतिबद्धता जनाउनुभएको छ।


















