काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसले यही फागुन २९ गतेदेखि एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सुरु गर्ने भएको छ ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दिनुभएको जानकारी अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ। ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको स्थानीय नेतृत्व पुग्नेछ। समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ ।
उहाँले यस अभियानले नेपाली कांग्रेसले आम नागरिकसंगको दोहोरो सम्वादको रुपमा लिएको बताउदै भन्नुभयो, हामी नागरिकहरुको पीर,मर्का, समस्या पनि सोधेर बुझ्ने छौ र नेपाली कांग्रेसको नेतृत्वमा रहेका तीनै तहका सरकार तथा विधायकहरुले गरेका कामहरुको बारेमा पनि बुझाउने छौ ।’
यो अभियान फागुन २९ गते देशका ७७ जिल्लामै सुरु हुनेछ । अभियानको जिल्ला संयोजनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरु त्यसपहिले नै जिल्ला पुगिसक्ने छन् ।
पार्टीले सातै प्रदेश कार्यसमितिलाई महत्वपूर्ण भूमिका दिएको छ।उहाँले स्थानीय आवश्यकता अनुसार कार्यक्रम थप्न पाउनु हुनेछ । प्रदेश अन्तरगतका सबै जिल्लाका अभियानलाई सफल पार्न सहयोग गर्ने र अनुगमन तथा मूल्यांकन गर्ने काम प्रदेश कार्य समितिले गर्ने छन् ।
यस अभियानमा जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति,पालिका समिति वडा र टोल समितिबीच समन्वय हुनेछ । स्थानीय टोल समितिको अगुवाईमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु हरेक घर पुग्नेछन् ।
विभाजित दल हरियोदेखि तर्सन्छ
पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनको मतपत्रमा चिन्हको रंग हरियो हुने निर्वाचन आयोगको निर्णयम नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले गरेको आपत्तिबारे नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, विभाजित दल हरियो देखि तर्सन्छ ।
चुनाव नजिकिएपछि गाउँपालिका र नगरपालिकाको आवश्यकता अनुसार घोषणापत्र तयार गर्ने उहाँको भनाइ छ।
प्रचार प्रसारमा काँग्रेसको ध्यान
चुनावमा काँग्रेसले प्रचार प्रसारलाई विशेष ध्यान दिने भएको छ। सामाजिक सञ्जालमा हुने प्रचारप्रसार महत्वपूर्ण हुने भन्दै यसको भरपूर उपयोग हुने प्रवक्ता महतले बताउनुभयो।
उहाँले यस अवधिमा नेपाली कांग्रेसले गरेका कामहरु पनि आम नागरिकसमक्ष पुर्याउन प्रयास हुने उहाँले बताउनुभयो ।
‘सामाजिक सञ्जालमा प्रचारप्रचार महत्वपूर्ण छ। यसलाई चुस्त दुरुस्त बनाउने काम हुन्छ’, डा.महतले भन्नुभयो, चुनाव अगाडि हामी यसलाई भरपूर उपयोग गर्छौँ।
’
प्रवक्ता महतले विपक्षीको भ्रामक प्रचार चिर्ने काम अब काँग्रेसले गर्ने दाबी गर्नुभयो। उहाँले संसदबाट अनुमोदन भएको अमेरिकी सहयोगको अनुदान ग्रहण गर्न मिलिनियम च्यालेञ्ज कर्पोरेशन( एमसीसी)ं संग गरिएको संझौताको बारेमा कम्युनिष्टहरुले सिर्जना गरेका भ्रमलाई पनि निवारण गरिने बताउनुभयो ।
चुनावी प्रचार र पार्टीको कामलाई जनतासमक्ष पुर्याउन पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई पनि परिचालन गरिने र समयावधि समाप्त भएका भातृ संगठनको केन्द्रीय समिति गठन गरिने पनि उहाँले बताउनुभयो ।
यस बीचमा पार्टीका विभागहरुलाई पूर्णता दिन पनि गृहकार्य भैरहेको उहाँले बताउनुभयो ।
सरकारले बैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
गठबन्धनको बारेमा अहिले मौन
पत्रकार सम्मेनमा संवाददाताहरुले स्थानीय निर्वाचनको चुनावी तालमेल बारेमा सोधेका प्रश्नमा कांग्रेस नेताहरु अहिले यसका बारेमा बोल्न हतार हुने भन्दै मौन रहनुभयो ।
अभियानको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले भन्नुभयो,पार्टीको केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिले चुनावी तालेमलबारे कुनै निर्णय गरेको छैन । एक महिने अभियानमा पनि एजेण्डा बन्दैन । उपयुक्त समय आएपछि यसबारे निर्णय हुनेछ ।’
घोषणा पत्र आफैं बनाउनुपर्ने
कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र तयार पार्ने जिम्मा स्थानीय कमिटीलाई नै दिने भएको छ । पार्टीको उम्मेदवार विजयी भएमा पाँच वर्षमा गर्ने कामको योजनासहित हरेक स्थानीय तहको कमिटीले चुनावी घोषणा पत्र बनाउनुपर्नेछ ।
गठबन्धनको विषयको टुंगो अहिले भइनसकेको काँग्रेसले प्रष्ट पारेको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले यो अभियानमा काँग्रेसले जनताका कुरा सुन्ने उल्लेख गर्नुभयो।
यस्तो छ कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान(पूर्ण पाठ)M
मिति : २०७८ फागुन २५
प्रेस नोट
`घर–घर जाऔं, कांग्रेस जिताऔं´ अभियान
नेपाली कांग्रेस
१) अभियानको नाम : `घर–घर जाऔं, कांग्रेस जिताऔं´ अभियान l
२) अभियानको समयावधि : फागुन २९ देखि चैत २९ सम्म १ महिना l
३) अभियानको उद्देश्य l एक अभियान / आठ उद्देश्य :
क) बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालार्इ अपील गर्दै निर्वाचनको माहौल बनाउने l
ख) स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने l कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने l
ग) `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने l
घ) नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने l
ङ) नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने l
च) प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने ।
छ) नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने l
ज) राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना MCC नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने ।
४) अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु
* अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु हुनेछ l
५) प्रतिनिधिहरुको दायित्व र जिम्मेवारी
केन्द्रीय प्रतिनिधिहरु अभियान शुरु हुनु २ दिन अघि जिल्लामा पुग्नुहुनेछ l अभियानको शुरु हुनु अघि र शुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नुहुनेछ l
६) अभियानमा सात प्रदेश कार्यसमितिको भूमिका
संघीय संरचना निर्माण पश्चातको यो प्रथम अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् l
सो क्रममा…
क) केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण l
ख) सम्पूर्ण कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक जिम्मेवारी बाँडफाँड l
ग) अभियानका कार्यक्रमहरु व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय l
घ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो प्रदेश भित्र `घर–घर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा l
ङ) आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने ।
७) अभियानमा जिल्ला कार्यसमितिको भूमिका
क) अभियान शुरु हुनु भन्दा कम्तीमा २ दिन अघि जिल्ला समितिको बैठक सम्पन्न गरेर अभियानका सबै कार्यक्रम केन्द्रित कार्ययोजना तय गर्ने l
ख) जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि या प्रतिनिधि टोली तय गर्ने l
ग) अभियानको जिल्ला स्तरीय केन्द्रीकृत उद्घाटन समारोह आयोजना गर्ने l
घ) अभियानलाई सफल बनाउन आफु अन्तर्गतका तह एवं भ्रातृ एवं शुभेच्छुक संस्थाहरु परिचालन गर्ने l
ङ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो जिल्ला भित्र `घरघर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा गर्ने l
८) अभियानमा प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको भूमिका
क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने l
ख) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक-फरक वडामा परिचालन गर्ने l
९) अभियानमा पालिका समितिहरुको भूमिका
क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने l
ख) `स्थानीय घोषणापत्र निर्माण समिति´ गठन गरेर अविलम्ब कार्य प्रारम्भ गर्ने l समितिमा पार्टी निकट शिक्षक, प्राध्यापक, वकिल, पत्रकार लगायतको बौद्धिक क्षेत्रको पनि सहभागिता गराउने l
ग) समिति मार्फत `घोषणा पत्र निर्माण संवाद´ कार्यक्रम आयोजना गरेर स्थानीय बासिको भावना समाहित गर्ने l
घ) वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप ब्यापक कार्य विभाजन गर्ने l
ङ) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने l त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने l
१०) अभियानको उद्घाटन केन्द्रीकृत, कार्यक्रम विकेन्द्रीत
क) ७७ जिल्लामा एकै दिन, एकै समयमा १.०० बजे, एकसाथ, जिल्ला स्तरीय रूपमा उद्घाटन समारोह हुनेछ l
ख) उद्घाटन समारोह मार्फत अभियानको उध्येश्य, समयावधि र कार्यक्रमको स्वरुप बारे जानकारी गराइनेछ l
ग) उद्घाटन समारोहमा वडा तहमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिनेछ l (वडामा जिल्ला प्रतिनिधिका रूपमा पार्टीको नेतृत्वदायी तहमा रहेका साथीहरू खटिनुहुनेछ)
घ) स्थानीय स्थिति र आवश्यकता अनुरुपको संख्यामा प्रतिनिधि टोलि जिल्ला समितिको निर्णय अनुरुप वडामा खटिने छ l
११) कार्यक्रमको निर्धारित क्षेत्र
* जिल्ला स्तरीय उद्घाटन समारोह पश्चात सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलत वडा र टोल केन्द्रित हुनेछन् l
१२) अभियानको एक पाटो स्थानीय समितिहरुको आन्तरिक संरचनालाई पूर्णता
क) सबै पालिका समितिले अभियानको समयावधिभित्र `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप (कार्यसम्पादन, विभाग लगायत परिपत्रमा उल्लेखित एवं अन्य आवश्यक) कार्य विभाजन सम्पन्न गर्नेछन् l
ख) अधिवेशनबाट गठन भएको वडा समितिले अभियानको समयावधि भित्र (कार्यसम्पादन, विभाग लगायत) आफ्नो समितिको पूर्ण संरचना निर्माण गर्नेछन् l
ग) गठन गर्न बाँकी टोल समिति अभियान प्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन् l
घ) गठित टोल समिति अन्तर्गतको अन्य संरचना दोस्रो साताभित्रै गठन गरिनेछन् l
ङ) अभियानको निर्धारित सबै कार्यक्रमका लागि वडा समितिले आफ्नो सहजता र कार्यक्रमको प्रकृति अनुरुप पालिका समितिसँग समन्वय गरेर स्थानीय मिति तय गर्नेछन् l
१३) अभियानको अनुगमन
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ति समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् l
१४) वडा र पालिका तहमा सम्पन्न हुने कार्यक्रमहरु
सम्बन्धित समितिले `टाइ सिट´ निर्माण गरेर फरकफरक दिनमा यी कार्य प्रभावकारी रुपले सम्पादन गर्नेछन् l
१४.१) स्थानीय निर्वाचन प्रचार, परिचालन र घोषणापत्र मस्यौदा लगायतका समितिहरु
गठन l
१४.२) स्थानीय स्थिति अनुरुपको चुनावी रणनीति निर्माण l
१४.३) स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद (घोषणा पत्र मस्यौदा समिति)
१४.४) जनतासँग `विकास संवाद´ अन्तर्गत जन अपेक्षा र आवश्यकता अनुरुपको बाटो, कल्भर्ट, कज्वे, तटबन्ध या अन्य कुनैपनि स्थानीय विकासको बिषयमा स्थलगत रूपमा संवाद l
१४.५) FTVT Program
(First Time Voter Training Program) (पार्टी + नेविसंघ + पार्टीका शुभेच्छुक बौद्धिक संस्थाहरु)
१४.६) `जन अपेक्षाको स्थानीय तह कस्तो ?´
पहिलो पटकका मतदाताको दृस्ठिकोण, भावना र सुझाव संकलन l
१४.७) आफ्नो पालिका या वडा क्षेत्र भित्र कुनै पनि सामाजिक विसंगतिका घटना छन् भने त्यसको पहिचान गरेर त्यस विरुद्ध जनचेतना देखि खबरदारीसम्मका कार्यमा पार्टी पंक्तिलाई नियमित सकृय तुल्याउने l
१४.८) `ज्येष्ठ नागरिक सम्मान´ देखि `कर्म सम्मान कार्यक्रम´ सम्म l
समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्दमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान l
१४.९) कांग्रेसलाई `जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्´, नागरिक पंक्तिबाट सुझाव
लिने l
१४.१०) MCC भ्रम निवारण र वास्तविकता प्रशारणका लागि प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्ने l (पार्टी + प्राध्यापक संघ, ट्रेड युनियन, शिक्षक संघ, डिएलए, प्रेस युनियन)
१४.११) मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने l
१४.१२) निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरि, पार्टी पंक्ति र जनता समक्ष पनि आचारसंहिताबारे विस्तारित रुपमा सुसूचित गर्ने l
१४.१३) निर्वाचनमा पार्टीका उम्मेदवारहरुको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृस्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित `वन बुथ हन्ड्रेड युथ´ को अवधारणा बमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने l त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने, संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने l
१४.१४) मतदाता शिक्षा : मतदाताकै घर आँगनमा l
(पार्टी + महिला संघ + शिक्षक संघ)
(पालिका र वडाका कार्यक्रम वडाको भूगोल, जनसंख्या, स्थिति र आवश्यकता अनुरुप वडा हुंदै टोल र टोल हुँदै घर-घर सम्म विस्तारित हुनेछ)
१५) अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरुको भूमिका
क) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरुले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने l
ख) केहि भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ति संघ अन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने l
ग) भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने l
१६) अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरुको भूमिका
क) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने l
ख) समिति अन्तर्गत स्थानीय तह संरचनाको राजधानी सम्पर्क विस्तार गर्ने l
ग ) राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिक बीच सम्पर्कमा पुग्ने l
१७) अभियानमा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुको जिम्मेवारी
क) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई मातृभूमिमा हुन लागेको स्थानीय चुनावमा आ-आफ्नो स्थानीय तहमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने l
ख) सामाजिक संजाल मार्फत अभियानलाई बल पुर्याउने l
डा. प्रकाशशरण महत
प्रवक्ता


















