Prakash Adhikari March 13, 2022

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिका वा स्थानीय सरकारले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ।

नगरपालिका संघको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो।

नागरिकको नजिकको सरकार नगरपालिका वा स्थानीय सरकार भएकोले पनि आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सक्नुपर्ने पनि उहाँले बताउनुभयो।

उहाँले स्थानीय तहलाई स्थानीय सरकार नै भन्ने कानूनी व्यवस्था मिलाउन राजनीतिक दलहरुसग कुरा गर्न पनि आफू तयार भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले ‘देशको आर्थिक समृद्धि र समतामूलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण भएको बताउदै भन्नुभयो,‘ यसका लागि कार्ययोजना बनाएर सबै नगरपालिकाले सबै आर्थिक क्रियाकलापको समन्वय गरेर काम गर्न आवश्यक छ ।’

उहाँले मुलुकको आधुनिकीकरण, सेवाको स्तरोन्नति, पूर्वाधार विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढ्न आवश्यक भएको पनि बताउनुभयो ।

उहाँको दैलोमा रहने निकाय भएकोले जनताको दुःख, सुखमा सहभागी भएर धेरै कुरा नगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्कृष्ट नगरपालिका पुरस्कृत

नेपाल नगरपालिका संघले २९ औं साधारण सभामा उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको छ।

संघले आज काठमाडौंमा कार्यक्रम गरेर विभिन्न विधामा नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयर, उपमेयरलाई पुरस्कृत गर्नुभयो।

संस्थागत विकासतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन्।

साथै सहरी योजना तथा विपद व्यवस्थापनतर्फ धादिङको नीलकण्ठ नगरपालिका पुरस्कृत भएको छ भने वातावरण तथा उत्थानशीलतातर्फ इलामको इलाम नगरपालिका पुरस्कृत भएको छ।

स्थानीय आर्थिक विकासतर्फ हरिवन नगरपालिका, सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका पुरस्कृत भएका छन्।

Share Now

Leave a comment.