बनेपा(काभ्रेपलाञ्चोक), २९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने गरी चुनावी अभियान सञ्चालन गर्न अनुरोध गर्नुभएको छ।
नेपाली कांग्रेसले आजदेखि गरेको स्थानीय तह चुनाव केन्द्रीत “घरघर जाऔं कांग्रेस जिताऔ” अभियानको बनेपामा उद्घाटन गर्दै उहाँले सो अनुरोध गर्नुभएको हो।
उहाँले आजदेखि सुरु भएको एक महिने अभियानमा जिल्लाका र खासगरी स्थानीय तहका वडास्तरका नेता तथा कार्यकर्तालाई जनताका घरदैलोमा पुगेर समस्या सुन्ने तथा कांग्रेसले गरेका कामहरूबारे जनतालाई राम्रोसँग बुझाउन आग्रह गर्नुभएको छ ।
उहाँले यस अभियानका क्रममा आम नागरिकका घरघर पुगेर नेपाली कांग्रेसका विचार, आदर्श,सिद्धान्त, यसले अवसर पाउदा जनताको हितमा गरेका काम र अब जिम्मेवारी पाएपछि गर्ने कामका बारेमा जानकारी दिन र आम नागरिकका स्थानीय माग तथा सरोकारका विषयहरु सुझावका रुपमा संकलन गरेर ल्याउन पनि आग्रह गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसले देशमा क्रान्ति गर्ने, आन्दोलन गर्ने, परिवर्तका उपलब्धिलाई संस्थागत गर्न ंसंविधान बनाउने देखि सरकारको नेतृत्व लिएको र सरकारमा सहभागी भएको बेलामा देश र जनताको हितमा थुप्रै काम गरेकोले त्यसको बारेमा जानकारी दिन पनि यो अवसरको उपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसको सरकारको पालामा मुलुकमा पूर्वाधारहरुको व्यापक विस्तार गरिएको,आर्थिक र सामाजिक विकास अभियानलाई तीव्रता दिइएकोले नेपाली कांग्रेसले निर्वाचनमा मत माग्न संकोच मान्नुपर्ने स्थिति नरहेको पनि बताउनुभयो ।
कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेस आफूले गरेका कामको प्रचार गर्न नसक्ने कमजोरी रहेको औल्याउदै भन्नुभयो, “हामीले काम गरेका छौ तर बिकीरहेको छैन् । कम्युनिष्टहरु कुरा गर्दछन् काम गर्दैनन् उनको कुरामा जनता अल्मलिइ रहेका छन् ।”
उहाँले कम्युनिष्टहरुले तील बराबर काम गरेर पहाड बराबर प्रचार गर्ने तर कांग्रेसले पहाड बराबर काम गदा पनि तिल जति प्रचार गर्न नसकेको बताउनुभयो ।
उहाँले स्थानीय निर्वाचन पहिले नै हाम्रा विचार, सिद्धान्त, गरेका काम र भविष्यमा गरिने कामका योजना तथा कम्युनिष्टहरूका बदमासीबारे घरघरमा पुगेर जनतालाई जानकारी दिन आवश्यक भएको बताउनुभयो ।
उहाँले यो अभियानलाई कम्युनिष्टका झुठा प्रचारको पर्दा उघार्ने अवसरका रुपमा उपयोग गर्न पनि आग्रह गर्नुभयो ।
सम्बोधका क्रममा प्रवक्ता महतले स्थानीय निर्वाचनको नतिजाले संघीय प्रतिनिधिसभा तथा प्रदेश सभाको नतिजालाई पनि प्रभावित पार्ने भएकोले स्थानीय निर्वाचनमा वडा र पालिकामा नेपाली कांग्रेसले जित्ने ढंगले काम गर्न पनि जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सत्ता गठन्धनका दलहरुबीच चुनावी गठबन्धनका संभावनाबारे बोल्दै प्रवक्ता महतले भन्नुभयो“काँग्रेसलाई पहिलो पार्टी बनाउने हाम्रो उद्देश्य हो । गठबन्धनबाट अथवा विना गठबन्धन कसरी हामी उद्देश्यमा पुग्न सक्छौं, त्यहीअनुरुप निर्णय लिन्छौं ।”
उहाँले नेता कार्यकर्तालाई उम्मेदवारको टिकटभन्दा काग्रेसको भोट कसरी बृद्धि गर्न सकिन्छ भन्नेतिर ध्यान केन्द्रित गर्न अनुरोध गर्नुभयो।
उहाँले कम्युनिष्ट नेताहरुसंग देशको विकास र जनताको सुख सुविधाको कुनै योजना नभएको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासका लागि हामी आफैले मागेर अमेरिकाले दिएको एमसीसी अनुदानको विरोध यसको दृष्टान्त भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य उर्मीला केसीले नेताहरु गाउँ केन्द्रीत हुनुपर्ने र त्यसको परिणाम निर्वाचनमा देखाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सभापति तीर्थ लामाले जिल्लाका १ सय ३५ वडामा भएको व्यवस्थापनका विषयमा जानकारी गराउनुभयो ।
नेपाली काँग्रेसका १४ औं अधिवेशनका समयमा पार्टीभित्र देखिएको गुटबन्दीलाई समेत यो अभियानले साम्य पार्ने र निर्वाचनका समयमा नेता एकजुट हुने विश्वास काभ्रे कांग्रसले व्यक्त गरेको छ ।
देशका ७७ वटै जिल्लामा फागनु २९ बाट शुरुभएको यो अभियान एक महिनासम्म सञ्चालन हुनेछ ।


















