काठमाडौं, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा विकास विरोधी कम्युनिष्टहरुसंग आक्रोशित रुपमा प्रस्तुत हुनभएको छ ।
नुवाकोट जिल्लाको किस्पाड. गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाट्न सम्बोधनमा उहाँले एमसिसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गर्नुभयो।
एमालेका नेता रावलले मन्त्री हुँदा एमसीसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवाले आक्रोश पोख्नुभएको हो।
प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताउनुभो।
‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउनेरु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो। उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ?’
ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसीसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो।
‘त्यसबेला किन विरोध गर्नुभएन? राजीनामा किन दिनु भएन,?’ रावललाई प्रश्न गर्दै देउवाले भन्नुभयो ‘अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बस्नुभयो त्यसबेला अहिले विरोध गर्दैहुनुहुन्छ।’


















