कलैया(बारा), हरिऔन(सर्लाही), ३० फागुन । नेपाली कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी हुनुभएको छ भने सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह।
बारमा आफ्ना प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई पराजित गर्दै राजेश राय यादव कांग्रेस सभापतिमा विजयी हुनुभएको हो।
यादवले १ हजार २ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले १ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले जानकारी दिनुभयो।
खसेकोमध्ये २९ मत भने बदर भएको छ ।
सर्लाही सभापतिमा सुरेन्द्रप्रसाद सिंह
यसी बीच नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो ।
सभापतिमा विजयी सिंहले १ हजार ७ सय ५८ मत पाउनुभयो भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३ सय ७८ मत मात्र पाउनुभयो । रायभन्दा सिंह ३ सय ८० मा बढी ल्याएर विजयी हुनुभयो ।
निर्वाचन समितिका अनुसार ३ हजार २ सय ७५ मतदाताहरु मध्ये ३ हजार १ सय ७४ मत खसेको थियो ।
उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४ सय ९३ मतसहित विजयी हुनुभयो । उपसभापतिमै संस्थापनबाट डा. सरोज कुमार (राजु) १ हजार ७ सय ६४ मतसहित विजयी हुनुभएको छ ।
सचिवमा संस्थापनका निरज कार्की १ हजार ७ सय २६ र मनोज यादव १ हजार ४ सय २६ मतका साथ विजयी हुनुभएको छ।
सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७ सय ११ र सुनिलकुमार कुशवाहा १ हजार ५ सय ७९ मत सहित विजयी हुनुभएको छ ।
कांग्रेस अधिवेशनका जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई ज्ञापन गरे । सदस्यको मतगणना भने होलीपछि गर्ने कि निरन्तरता दिने निर्णय भइसकेको छैन ।
यस विषयमा सोमबार दुवैपक्षसँग छलफल हुने भएको छ ।
कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत गत शनिबार मतदान भएको थियो ।


















