Prakash Adhikari March 20, 2022

सिन्धुलीमाडी(सिन्धुली), ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारीहरू अझै माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेको बताउनुभएको छ ।

शनिबार सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।

उहाँले जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर माओवादी कार्यकर्तालाई पाल्ने जनतासंग जोड्ने गरी अभियान थाल्न निर्देशन पनि दिनुभयो ।

आसन्न स्थानीय निर्वाचनको बारेमा बोल्दै उहाँले भन्नुभयो, देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्दछ ।

देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताउदै उहाँले थप्नुभयो, आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्ने अवस्था छ ।

‘साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हार्‍यौँ भने संविधान र गणतन्त्र नै हार्नेछ, जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ’, माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो ।

एमालेले संसद् चल्न नदिएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले माओवादीले ‘रिल्याक्स’ गर्ने अवस्था नआएको बताउनुभयो ।

‘समाजवादको यात्रामा जान जसलाई नायक बनाउन लागियो उनी नै खलनायक भए’, उहाँले भन्नुभयो, ‘मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिया भएकाले सचेततापूर्वक अधि बढ्न आग्रह गर्नुभयो ।’

सिंहदरबारलाई गाउँ–गाउँमा पु¥याउन संविधान बनाएको जस लिन पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ नेपाली जनताका छोराछोरीले रगत बगाएको स्मरण गराउनुभयो ।

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतापछि मुलुकमा सङ्घीयताको ढोका खुलेको उहाँले बताउनुभयो ।

‘मुलक सङ्कटमा परे त्यो शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले देश र संविधानको रक्षा मैले गर्नुपर्छ, उहाँले भन्नुभयो ।

Share Now

Leave a comment.