Prakash Adhikari March 20, 2022

 

गोरखा, ५ चैत । एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दल निर्वाचनको अग्निपरीक्षाका लागि तयार भएको बताउनुभएको छ।

शनिवार गोरखामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टी अग्निपरीक्षा लागि तयार भएको बताउनुभएको हो।

‘अब हाम्रो अग्निपरीक्षा सुरु हुँदैछ। चुनाव हाम्रो अग्निपरीक्षा हो,’ उहाँले भन्नुभयो, ‘यस अघि हामीले राष्ट्रिय सभामा जितेर २ वटा अग्निपरीक्षा उत्तीर्ण गरिसकेका छौं। अब वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पनि जितेर देखाउनुपर्नेछ।’

उक्त निर्वाचनले नै दलको हैसियत बनाइदिने उहाँले बताउनुभयो। स्थानीय निर्वाचनको तयारीमा जुट्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

‘पहिले हामीले केपी ओलीका उम्मेदवार रामबहादुर थापालाई हराउन सफल भयौं। पछि राष्ट्रिय सभाका १९ सिटमा भएको निर्वाचनमा १८ वटा जितेर केपी ओलीको एमालेलाई धुलो चटाइदियौं,’ उहाँले भन्नुभयो,‘अब स्थानीय निर्वाचनमा पनि एमालेलाई हराउनुपर्छ।’

अहिलेको नेकपा एमाले विधि पद्धतिमा नचलेको उहाँको आरोप छ। दरबारिया र विदेशीसँग नजिक भएका पार्टीसँग संगत गरेर एमालेका अध्यक्ष ओली गलत बाटो हिँडनुभएको उहाँको आरोप छ।

एकीकृत समाजवादी पार्टी नेकपाकै निरन्तरता भएको भन्दै उहाँले आफूहरुको पार्टी मूलधारको पार्टी भएको दाबी गर्नुभएको छ।

उहाँले कम्युनिष्ट विचारधारा अंगालेका पार्टीसँग सहकार्य र एकता गरेर अघि बढ्ने योजनाका साथ काम भइरहेको उल्लेख गर्नुभयो।

Share Now

Leave a comment.