काठमाडौं, ७ चैत ७ । छिमेकी मित्रराष्ट्र चीनको राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने भ्रमण गर्नुहुने भएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँले नेपालको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच शनिवार द्विपक्षीय वार्ता हुनेछ । साथै भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने कार्यक्रम छ ।
विदेशमन्त्री विदेशमन्त्री वाङ यीको भ्रमण मुख्यतया नेपाल र चीनका बीचमा सम्पन्न बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई) संझौता अन्तरगत परियोजना विकास र निर्माणमा केन्द्रित हुने बताइएको छ ।
अमेरिकाकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) अन्तरगत ५० करोड अनुदान सहयोग नेपालको सडक विस्तार र विद्युत विद्युत प्रशारण लाईन निर्माणमा लिने संझौता भएपछि चीनले नेपालमा विशेष रुचि राख्दै आएको छ ।
एमसीसी संझौता संसदबाट पारित गर्ने सम्बन्धमा नेपालमा चलेको राजनीतिक कसरतका बीच चीनका नेताहरु नेकपा एमाले र माओवादी नेताहरुसंग पटक पटक टेलिफोन सम्बाद गरेका थिए । दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी सहविदेशमन्त्री डोनाल्ड लिउ र एमसीसीका पदाधिकारीहरुले नेपालले एमसीसी संझौता पारित गर्न दिएको अन्तिम समयरेखाबारे नेपाललाई जानकारी गराएपछि चीनको विदेश मन्त्रालयले अनावश्यक दबाव दिएको भन्दै कडा प्रतिक्रिया जनाएको थियो ।
अमेरिकी सहयोग अनुदान लिएको हुनाले चीनले यसपटक बीआरआई अन्तरगत केही विकास परियोजना बढाउने प्रस्ताव राख्ने देखिन्छ ।


















