काठमाडौं, ८ चेत्र । राजनीतिक दलहरु बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कार्यकर्ता प्रशिक्षणको अभियानमा संलग्न हुन थालेका छन् । तर देशभरका सचेत नागरिकमा भने एकै प्रश्नले घर जमाएको छ, स्थानीय तहको चुनावमा दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन । भए कस्तो बन्ला ?
निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वाम गठबन्धन बनाउन नेकपा (माओवादी केन्द्र(का अध्यक्षमाथि दबाव रहेको उक्त पार्टीका एक नेता हरिबोल गजुरेलले बताउनुभएको छ।
तर यसअघि एकीकरण गरी बनेको नेकपाबाट छुट्टिएको नेकपा (एमाले)सँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको उहाँले बताउनुभयो।
नेता गजुरेलले अहिलेको सत्ता गठबन्धन प्रतिगमनलाई रोक्न बनेको बताउँदै त्यसको खतरा अझै नटरेकोले एमालेसँग गठबन्धन गर्ने आधार नरहेको बताउनुभयो।
‘अहिलेको आवश्यकता चुनावमा सत्ता गठबन्धनकै निरन्तरता हुनुपर्यो भन्ने हो’, उहाँले भन्नुभयो।
‘तालमेलका प्रयासहरू भइरहेका छन्। अध्यक्षमाथि वाम गठबन्धनका लागि अलिकति दबाव छ।’
उहाँले सत्तारूढ गठबन्धनको सबैतिर सहकार्य सम्भव नरहेको आफूहरूले बुझेको तर एमालेलाई रोक्न पर्ने ठाउँहरूमा त्यसो गर्न सकिने धारणामा रहेको बताउनुभयो।

एमालेले के सोचेको छ
प्रमुख प्रतिपक्षी दल एमालेले आफू अहिले राष्ट्रिय स्तरमा कुनै दलसँग गठबन्धन गर्ने मनस्थितिमा नरहेको जनाएको छ।
तर उक्त दलका प्रवक्ता प्रदीप ज्ञवालीले तल्लो तहमा कहीँ कतै मिल्न सकिने सम्भावनालाई भने नकार्नु भएन।
वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा ज्ञवालीले भन्नुभयो, ‘आफूलाई वाम भन्ने साथीहरू कांग्रेसलाई बलियो बनाउन लाग्नुभएको छ र कांग्रेसकै छत्रछायामा रमाइरहनुभएको छ भने त्यसमा अहिले कुनै सम्भावना म देख्दिनँ।’
यसै साताको एमालेको पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकले यस विषयमा थप प्रष्ट पार्ने नेता ज्ञवालीको भनाइ छ।
एकीकृत समाजवादीको ‘विश्वास’
सत्ताधारी गठबन्धन नै मिलेर चुनावमा जानुपर्छ भन्ने आफूहरूको ‘दृष्टिकोण मात्र नभएर विश्वास रहेको’ नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल बताउनुहुन्छ।

एमालेसँग मिल्न सकिने सम्भावनालाई चाहिँ भुसालले मनोगतको सङ्ज्ञा दिए।
तर अन्य दलसँगको सहकार्यका विषयमा केन्द्रीय तहबाट नीतिगत निर्णय लिइने उहाँको भनाइ छ।
‘अहिलेसम्म एमालेको जुन खालको प्रस्तुति छ त्यसले ऊ अरूसँग मिलेर जाने सम्भावना उसैले देखाएको छैन।’
एकीकृत समाजवादीले आफूसँग सत्ताबाहिर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलले समेत सहकार्यबारे छलफल गरिरहेको जनाएको छ।

नेपाली कांग्रेस मौन
चैत ११ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावी सहकार्यका विषयमा दृष्टिकोण स्पष्ट पार्ने उक्त दलका प्रवक्ता प्रकाशशरण महत बताउँनुहुन्छ।
तर स्थानीय तहको हकमा फरकफरक ठाउँका आवश्यकता र अवस्था फरकफरक हुने भन्दै सबै कुरा केन्द्रले निर्देशित गर्न नसक्ने उहाको भनाइ छ।
‘हामीले विभिन्न तहमा अधिकार पनि त्यसैगरी प्रत्यायोजन गरेका छौँ। धेरै कुराहरू स्थानीय रूपमै मिलाउनुपर्ने हुन्छ।’
एमालेसँग नमिल्ने सर्तमा कांग्रेस गठबन्धनसँगै चुनावसम्म जान सक्ने भन्ने चर्चाबारे सोधिएको प्रश्नमा प्रवक्ता महतले त्यसरी कसैसँग कुरा नगरिएको बताउनुभयो।
‘बरु वहाँहरू नै कतिपय स्थानीय तहमा एमालेसँग कुरा गरिरहनुभएको जानकारी हामीलाई प्राप्त भइरहेको छ।’
कांग्रेसभित्र चुनावमा मिलेर वा एक्लै जाने भन्ने विषयमा भिन्न भिन्न मत देखिन्छ।


















