Prakash Adhikari March 22, 2022

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ८ चैत्र(बीबीसी) । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ।

त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उहाँले बताउनुभयो।

बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन भित्तामा पुगेको भन्दै अब उहाँले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताउनुभएको हो।

उहाँले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताउनुभयो।

यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको प्रस्ट सङ्केत गर्ने उहाँले बताउनुभयो।

बाइडनले भन्नुभयो, “अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो। म त्यसको ग्यारेन्टी गर्छु। साथै युक्रेनमा त्यस्ता अस्त्र रहेको दाबी पनि गरिएका छन्। यी प्रस्ट सङ्केत हुन् उनी ती प्रयोग गर्न चाहन्छन्।”

साइबर हमलाको खतरा
अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताउनुभयो।

त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले हरकिसिमको यत्न गर्ने पनि उहाँले बताउनुभयो।

आर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उहाँको भनाइ थियो।

साथै उहाँले अमेरिकी कम्पनीहरूलाई उनीहरूका डिजीटल सुरक्षा प्रबन्ध कसिकसाउ बनाउन पनि आह्वान गर्नुभयो।

यसअघि बाइडनले पुटिनलाई युद्ध अपराधी भनेपश्चात् वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिएको थियो।

 

Share Now

Leave a comment.