काठमाडौं, ८ चैत्र । विभाजनको डिलमा पुगेको गैर आवासीय नेपाली संघ(एनआरएनए) विभाजनबाट जोगिने स्थिति सिर्जना भएको छ ।
संघको संस्थापन पक्षले गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै गैरसंस्थापन पक्षले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतले निर्धारित महाधिवेशन नगर्न,नगराउन अन्तरिम आदेश दिएपछि संघलाई जोगाउन थप प्रयास गर्ने वातावरण सिर्जना भएको छ ।
संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको र १० औं अधिवेशन आफूहरुको सहभागिता बिना हुन लागेको भन्दै रोक्न माग गरिएको अन्तरिम आदेशको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतबाट अन्तरिम आदेश जारी भएको अधिवक्ता नारायण कँडेलले जानकारी दिनुभएको छ।
गैर आवासिय नेपाली संघ एनआरएनएको संस्थापन पक्षले आव्हान गरेको निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले ९ चैत्र सम्मका लागी अन्तरिम आदेश जारी गरेको छ । ९ चैत्र दुबै पक्षलाई आ आफ्नो प्रमाणहरु सहित छलफलका लागी अदालतले बोलाएको छ ।
बहसमा सहभागी अधिवक्ता नारायण कँडेलका अनुसार पाटन उच्च अदालतद्वारा एनआरएनएको पन्त समुहले विवादास्पद प्रतिनिधी सहित एक पक्षिय रुपमा गर्न लागेको विबादास्पद निर्वाचन प्रकृया तत्कालका लागि रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको हो ।छलफलका लागि दुबै पक्षहरुलाई बुधवार झिकाईने भएको छ ।
एनआरएनले यही चैत्र १० र ११ गते निर्वाचन गर्ने गरी दशौ महाधिवेशन र निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको थियो ।
सो निर्वाचनको लागि अध्यक्षमा रविना थापा र बद्री के.सी. उपाध्यक्षमा डी.बी. क्षेत्री,धर्मराज अधिकारी, डा.हेमराज शर्मा, राजेन्द्रकुमार शर्मा, टंक गैरे,जयप्रकाश गुरुड.,यासमिन वेगम र रोशन थापाले उम्मेद्वारी दिनुभएको थियो ।
त्यस्तै महासचिवमा गौरीराज जोशी र विनय अधिकारी,सचिवमा रामशरण सिम्खडा,अजिब गुरुड.,चिरञ्जीवि घिमिरे,शंकर खड्का,अभिमानसिंह बस्नेत र राधिका गुरुड.,कोषाध्यक्षमा लोकप्रसाद दाहाल र फडिन्द्र पन्त,सहकोषाध्यक्षमा यज्ञराज सुवेदी र यमुना भट्टराई,महिला संयोजकमा संगीता मरहठ्ठा, युवा संयोजकमा रविन्द्र खड्का, क्षेत्रीय संयोजकमा राजेन्द्र अर्याल मध्यपूर्व,पारसमणि पोखरेल एशिया प्यासेफिक,सन्तोषकुमार भट्टराई युरोप,लालबहादुर के.सी.ओसेनिया,दीपक शर्मा ओसेनिया,दिनेशराज जोशी ओसेनिया,प्रकाश सापकोटा अमेरिका र राजकुमार थापा अफ्रिकाले उम्मेद्वारी दिनुभएको थियो ।
यस्तै क्षेत्रीय उपसंयोजकमा यूरोपबाट ललित कुमार न्यौपाने,चित्रप्रसाद सुवेदी र नवराज न्योसेरा,एशिया प्यासेफिकबाट दधिवल खड्का,हरिप्रसाद भट्टराई र नवीन बि.क.,अमेरिकाबाट अभिमन्यु बस्नेत र पुरुषोत्तम बोहोरा,मध्यपूर्वबाट लालप्रसाद पुन,कृष्णबहादुर हमाल र अमित राई,ओसेनियाबाट रामराज ओली र अशोक के.सी.ले उम्मेदवारी दिनुभएको थियो । अफ्रिकाबाट उपसंयोजकमा कसैको उम्मेद्वारी परेको थिएन ।
त्यस्तै क्षेत्रीय महिला संयोजकमा अमेरिकाबाट तृष्णा शर्मा,युरोपबाट पानकुमारी मल्ल,एशिया प्रशान्तबाट शान्तिदेवी अधिकारी,ओसेनिया उषाकिरण बरिया र अफ्रिकाबाट खेसना लिम्बूको उम्मेदवारी परेको थियो ।
त्यस्तै क्षेत्रीय युवा संयोजकमा युरोपबाट किरण गुरुड.,अमेरिकाबाट स्वराज खाती,अफ्रिकाबाट रोशनराज घिमिरे र ओसेनियाबाट प्रदीप रुपाखेतीको उम्मेद्वारी परेको छ । यसमा एशिया प्यासेफिक र मध्यपूर्वबाट कसैको उम्मेद्वारी परेको छैन ।
त्यस्तै क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाबाट इन्दिरा त्रिपाठी,एशिया प्यासेफिकबाट डा.इन्दिरा तिवारी,युरोपबाट सुनिता सापकोटाको उम्मेदवारी परेको छ भने ओसेनिया,मध्यपूर्व र अफ्रिकाबाट कसैको उम्मेद्वारी परेको छैन ।
त्यसरी नै क्षेत्रीय युवा उपसंयोजकमा यूरोपबाट रोबट लिम्बू र अमेरिकाजबाट ईश्वर खत्रीको उम्मेद्वारी परेको छ । एशिया प्यासेफिक,ओसेनिया,मध्यपूर्व र अफ्रिकाबाट यसमा उम्मेद्वारी परेको छैन ।
उम्मेद्वारी दिएका कतिपय निर्विरोध निर्वाचित भैसकेको निर्वाचन समितिले जनाएको छ ।
एनआरएनको संस्थापन पक्षले प्रतिनिधि विवाद समाधान नगरिकन १० औं अधिवेशन र निर्वाचन गर्ने निर्णय गरेपछि निर्धारित निर्वाचन रोक्न अनुरोध गर्दै परराष्ट्र मन्त्रालयले संघको संरक्षक तथा सल्लाहकार परिषद्का प्रमुख संरक्षक शेष घलेलाई यो समस्या समाधान गरेर विवादरहित ढंगले निर्वाचन गर्ने उपाय सुझाउन जिम्मेवारी दिएको थियो ।
तर मन्त्रालयले सो निर्णय गरेपछि एनआरएनएको बैठकले सल्लाहकार परिषद् नै विघटन गरी घलेलाई काम गर्न अप्ठ्यारो पारिदियो ।
सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्नुभएका घलेको छत्रछायामा गैरसंस्थापन पक्ष एकत्रित हुनपुग्यो । सो समूहले
वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएको भन्दै सोनाम लामाको संयोजकत्वमा चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भौतिक उपस्थितिमा महाधिवेशन गर्ने भनेर विश्वभरबाट प्रतिनिधि काठमाडौं बोलाएको छ ।
एनआरएनए पदाधिकारीहरुका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा. केशव पौडेललगायत प्रमुख संरक्षक घलेको नेतृत्वमा समानान्तर महाधिवेशन गरी निर्वाचन गर्न अग्रसर भैरहेकोले एनआरएनए विभाजनको डिलमा पुगेको छ ।
एनआरएनए विभाजन हुने अवस्था देखिए पछि यसका संस्थापक राम थापा, जीवा लामिछाने लगायतका अगुवाहरु संस्थालाई जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै राजनीतिक पार्टीका नेताहरुको घरदैलोमा पुगिरहनुभएको छ ।
संस्थापकहरुले संस्था विभाजित हुन नदिन भगिरथ प्रयास गरेपछि सल्लाहकार परिषद्का अध्यक्ष एवम् पूर्व अध्यक्ष शेष घलेले तीन सदस्यीय वार्ता समिति पनि गठन गर्नुभएको छ ।


















